विश्व बालश्रम विरुद्ध दिवस मनाइदै
आज विश्वभर विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै छ। हरेक वर्ष जुन १२ मा बालबालिकालाई श्रमिकका रूपमा प्रयोग गर्ने प्रवृत्तिविरुद्ध जनचेतना फैलाउने तथा बालश्रम अन्त्यका लागि प्रतिबद्धता व्यक्त गर्ने उद्देश्यले यो दिवस मनाइन्छ।
बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा गम्भीर असर पार्ने बालश्रमको समस्या अझै विश्वका धेरै देशमा चुनौतीका रूपमा रहेको छ। बालअधिकारको संरक्षण र बालश्रम उन्मूलनका लागि सरकार, अन्तर्राष्ट्रिय निकाय, निजी क्षेत्र तथा नागरिक समाजलाई थप सक्रिय बनाउन दिवसले प्रेरित गर्ने विश्वास गरिएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को बालश्रमका निकृष्ट रूप उन्मूलनसम्बन्धी महासन्धि–१८२ तथा रोजगारीमा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धि–१३८ को कार्यान्वयनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सन् २००२ देखि जुन १२ लाई विश्व बालश्रम विरुद्धको दिवसका रूपमा मनाउन थालिएको हो।
दिवसका अवसरमा विभिन्न देशमा सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, र्याली तथा बालअधिकारसम्बन्धी अभियान सञ्चालन गरिँदै छन्। बालबालिकालाई विद्यालयको कक्षाकोठामा पुर्याउने र श्रमबाट मुक्त गराउने लक्ष्यसहित विश्व समुदायले बालश्रम अन्त्यका लागि संयुक्त प्रयासलाई निरन्तरता दिइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस