Techie IT
२०८३ असार १५, सोमबार

आरोग्य पर्यटनको केन्द्र बन्दै बेनीको सिद्धथान र भंकासे


पहाडको उच्च स्थानमा अवस्थित समथर टापु, चारैतिर घना जङ्गल, बस्तीभन्दा टाढाको एकान्त एवं शान्त वातावरण, पृष्ठभूमिमा सुन्दर हिमशृङ्खला र चराचुरुङ्गीको मधुर आवाज। प्राकृतिक रूपमा जति मनमोहक छ, धार्मिक रूपमा उत्तिकै सर्वोपरि छ— म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको 'भंकासे'।

परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको विश्वास गरिने यो ऐतिहासिक स्थल यतिबेला पर्यटकीय पूर्वाधार, व्यापक प्रचारप्रसार र पर्यटकको पर्खाइमा छ। समुद्र सतहदेखि करिब २ हजार ६०० मिटर उचाइमा अवस्थित भंकासेको ऐतिहासिक पृष्ठभूमिबारे स्थानीय लोकबहादुर पुन भन्छन् - "पहाडको शिरमा रहेको यस स्थानमा जमिन भासिएर ठुलो प्वाल (भ्वाङ) परेकाले 'भ्वाङ खसेको' भन्दाभन्दै अपभ्रंश भएर यसको नाम भंकासे रहन गएको जनविश्वास छ।"

भंकासेमा पहाड भासिएर बनेको अनौठो ओडार र त्यसकै नजिकै करिब १० रोपनी समथर मैदान छ। यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे लगायतका मनमोहक हिमशृङ्खलाहरू स्पष्ट देखिन्छन्। स्थानीयका अनुसार म्याग्दीका साविकका ४१ मध्ये ३५ वटा गाविसको भूगोल यहाँबाट सहजै अवलोकन गर्न सकिन्छ।

सिद्धको थान र आधुनिक तपस्वी
भंकासेभन्दा करिब २०० मिटर तल ऐतिहासिक 'सिद्धको थान' रहेको छ। विगतमा तपस्या गरेका ऋषिहरूले देहत्याग गरेको उक्त पवित्र स्थलमा हाल मन्दिर र धर्मशाला निर्माण गरिएको छ। आजका दिनमा पनि देशका विभिन्न कुनाबाट ऋषिमुनिहरू यहाँ ध्यान र साधनाका लागि आउने गर्छन्। सिन्धुपाल्चोकबाट आएर विगत १२ वर्षदेखि यहाँ तपस्यारत तपस्वी रूपचन्द्र भन्छन्- "मैले सपनामा यो ठाउँ देखेको थिएँ, त्यसैको आधारमा विश्वशान्ति र विकृतिमुक्त समाजको कामनाका लागि यहाँ तपस्या गरिरहेको छु।"

कसरी पुग्ने ?
भंकासे र सिद्धथान दुवै स्थानमा अहिले आश्रमहरू उपलब्ध छन्। पात्लेखेतको वाखेत गुडियानबाट करिब ३० मिनेटको पैदल यात्रामा सिद्धथान पुग्न सकिन्छ भने त्यहाँबाट थप १५ मिनेटको उकालो हिँडेपछि भंकासे पुगिन्छ। त्यस्तै, म्याग्दीकै प्रसिद्ध पर्यटकीयस्थल 'टोड्के'बाट पनि मात्र ४० मिनेटको पैदल यात्रामा यहाँ पुग्न सकिन्छ।

यो ऐतिहासिक र प्राकृतिक सम्पदालाई पर्यटकीय केन्द्र बनाउन स्थानीय सरकारले अग्रसरता देखाएको छ। बेनी नगरपालिकाले सिद्धथान र भंकासेलाई 'आरोग्य पर्यटन' (Wellness Tourism) को अवधारणाअनुसार विकास गर्न ‘एक वडा, एक पर्यटन परियोजना’ मा समेटेको वडाध्यक्ष मसविर रोकाले बताए।

वडाध्यक्ष रोकाका अनुसार नगरपालिकाले वाखेतदेखि सिद्धथान हुँदै भंकासेसम्म जोड्ने पदमार्ग र सडक पूर्वाधार निर्माण गरिसकेको छ। पूर्वाधार विकाससँगै यस क्षेत्रको वास्तविक ऐतिहासिक तथ्यहरू संकलन गर्न धर्मगुरुहरूमार्फत खोज तथा अनुसन्धानको कार्यसमेत अगाडि बढाइएको उनले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट