Techie IT
२०८२ कार्तिक ९, आइतबार

रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी


रुसको सुदूरपूर्वी क्षेत्र काम्चात्का प्रायद्वीप नजिकै बुधबार बिहान ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भिक सर्वेक्षण संस्था (USGS) का अनुसार, सुरुमा ८.० म्याग्निच्युड अनुमान गरिएको भूकम्पको तीव्रता पछि संशोधन गर्दै ८.७ म्याग्निच्युड पुष्टि गरिएको हो।

भूकम्पको केन्द्र पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर टाढा र १९ किलोमिटर गहिराइमा रहेको जनाइएको छ। शक्तिशाली कम्पनपछि सुनामीको चेतावनी जारी गरिएको छ।

काम्चात्का प्रान्तका गभर्नर भ्लादिमिर सोलोदोभले स्थानीय बासिन्दालाई तटीय क्षेत्रबाट सुरक्षित स्थानमा सर्न आह्वान गरेका छन्। हालसम्म कुनै ठूला क्षति वा मानवीय क्षतिको विवरण नआएको बताइए पनि सतर्कता अपनाउन आवश्यक रहेको बताइएको छ।

जापानको मौसम विज्ञान विभागले पनि सतर्कता अपनाउन आग्रह गर्दै जापानका केही तटीय क्षेत्रमा एक मिटरसम्मको छाल आउन सक्ने सम्भावना औंल्याएको छ। जापानी सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार, जापानी तटीय क्षेत्रमा सतर्कता सूचनासहित सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रशान्त सुनामी चेतावनी केन्द्रले प्रारम्भिक मापनका आधारमा "खतरनाक र व्यापक सुनामी" आउन सक्ने सम्भावनासमेत औंल्याएको छ।

भूकम्पपछि हवाई टापुहरू, अलास्का राज्य तथा एल्युसियन टापु समूहका केही भागमा पनि सुनामीको पूर्वसूचना जारी गरिएको छ। त्यहाँका अधिकारीहरूले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

भूकम्पको केन्द्रभन्दा दक्षिण–पश्चिममा पर्ने साखालिन टापुबाट बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्न थालिएको गभर्नर भ्यालेरी लिमारेन्कोले बताएका छन्।

काम्चात्का क्षेत्र विश्वको सबैभन्दा भूगर्भीय रूपमा सक्रिय क्षेत्रमा पर्छ, जसलाई प्रशान्त ‘रिङ अफ फायर’ भनिन्छ । यो क्षेत्र नियमित रूपमा भूकम्प र ज्वालामुखी गतिविधिका लागि चिनिन्छ र कम जनसंख्यायुक्त तथा दुर्गम क्षेत्र मानिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट