देशभर डुबेर चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु भएको छ ।
गोरखा, बारपाक सुलिकोट गाउँपालिका–१ का ६० वर्षीय अर्जुन घलेलाई शुक्रबार साँझ किस्वारा खोलाले बगाएको थियो । खोजी गर्ने क्रममा प्रहरीले स्थानीयको सहयोगमा उनको शव फेला पारेको छ ।
झापाको बिर्तामोड नगरपालिका–२ स्थित ग्रिन पार्क भित्रको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा सोही नगरपालिका–३ का ३३ वर्षीय प्रकाश प्रसाई शुक्रबार दिउँसो डुबेर मृत फेला परेका छन् ।
यस्तै, रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का २५ वर्षीय वकिल मुसलमान शुक्रबार राति लंकापुरस्थित पोखरीमा डुबेर अशक्त भएका थिए । उनलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल पुर्याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, कपिलवस्तु, महाराजगंज नगरपालिका–४ का प्रदिप यादवका १० वर्षीय छोरा गोपाल यादव शनिबार बिहान घर नजिकैको खाल्डोमा जम्मा भएको पानीमा डुबेर ज्यान गुमाएका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस