अफगानिस्तानमा ६ म्याग्निच्यूडको भूकम्प, कम्तीमा २० को मृत्यु

अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति ६.० म्याग्निच्यूडको भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु नाङ्गरहार प्रान्तको राजधानी तथा अफगानिस्तानको पाँचौँ ठूलो सहर जलालाबादबाट करिब २७ किलोमिटर टाढा रहेको जनाइएको छ।
अधिकारीहरूका अनुसार ८ किलोमिटर गहिराइमा गएको उक्त भूकम्पमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तालिबान सरकारका स्रोतहरूले दर्जनौँ घर भत्किएको र मृतक संख्या अझ बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।
दूरदराजका हिमाली क्षेत्रमा भूकम्पपछि आएको पहिरो र बाढीका कारण भौतिक पहुँच अवरुद्ध भएको र केही स्थानमा केवल हवाई मार्गबाट मात्र पुग्न सकिने बताइएको छ । यस कारण तालिबान सरकारले मानवतावादी संस्थाहरूसँग उद्धार तथा राहतमा सहयोग गर्न आग्रह गरेको छ।
भूकम्पको धक्का अफगान राजधानी काबुलदेखि करिब ३०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो।
अफगानिस्तान भारतीय र यूरेसियन प्लेटहरूको भेट हुने भूकम्पीय फल्टलाइनमा अवस्थित भएकाले त्यहाँ बारम्बार ठूला भूकम्प आउने गरेको छ। सन् २०२२ मा पूर्वी अफगानिस्तानमा गएको ५.९ म्याग्निच्यूडको भूकम्पमा कम्तीमा १,००० जनाको मृत्यु र ३,००० भन्दा बढी घाइते भएका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस