इलाममा पहिरोले दुईको मृत्यु, कम्तीमा १० जना बेपत्ता

लगातारको वर्षापछि इलाम जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले ठूलो जनधनको क्षति भएको छ। हालसम्म दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा १० जना बेपत्ता रहेका स्थानीयले बताएका छन्। तर, यो संख्या प्रहरीबाट औपचारिक रूपमा पुष्टि हुन बाँकी छ।
इलाम प्रहरीका अनुसार मानेभञ्ज्याङ, देउमाई र इलाम नगरपालिका लगायतका स्थानमा घरहरू पुरिएको प्रारम्भिक विवरण आएको छ। कठिन भूगोल र निरन्तर वर्षाका कारण उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
इलाम नगरपालिका–६ घोसमा पहिरोले पुर्दा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ। मृतक डम्बरबहादुर पाख्रिनका सन्तान भएको प्रहरीले जनाएको छ। सोही घरका तीन जना अझै बेपत्ता छन्। घटनास्थलमा खोज तथा उद्धार कार्य जारी छ भने दुई घाइतेलाई अस्पताल लैजाने तयारी भइरहेको स्थानीय युवा रेवज तामाङले बताएका छन्।
यसैगरी माईजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीको परिवारका पाँच जना, सन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईका दुई जना र माङ्सेबुङमा पाँच जना बेपत्ता रहेको प्रहरी स्रोतले जनाएको छ।
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार जिल्लाभर बाढी–पहिरोबाट ठूलो क्षति भए पनि पीडितहरूको ठ्याक्कै संख्या एकिन हुन बाँकी छ। वर्षा रोकिएपछि बिहानैदेखि सुरक्षाकर्मी र स्थानीयले खोज तथा उद्धार कार्य अघि बढाएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस