Techie IT
२०८२ असोज २१, मंगलबार

इलाममा पहिरोले ३७ जनाको मृत्यु, नामसहित हेर्नुहोस्


अविरल वर्षाका कारण इलामका विभिन्न स्थानमा गएको पहिरोमा परी कम्तीमा ३७ जनाको ज्यान गएको छ। इलाम, देउमाई, माईजोगमाई, सूर्योदय, सन्दकपुर, माङसेबुङ र फाकफोकथुमका बस्तीहरूमा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

इलाम नगरपालिका–६ घोष गाउँमा प्रकाश तामाङको घरमा गएको पहिरोमा २३ वर्षीय समिर देउजाली, २३ वर्षीय प्रविण तामाङ, २३ वर्षीय बिराज पाख्रिन तामाङ, ३ वर्षीय आवास दनुवार, ३२ वर्षीया अनु तामाङ र ८ वर्षीया प्रिन्सिखा मगरको मृत्यु भएको छ।

सन्दकपुर–१ छाँगेमा छबि धन राईको घरमा गएको पहिरोले ४३ वर्षीय भिमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया सारदा सेडाई र ४८ वर्षीया तारा देवी राईको ज्यान लिएको छ।

माईजोगमाई–३ प्याङमा बर्मलाल सोङमीको घरमा गएको पहिरोले बर्मलाल (८२), बुद्धमाया सोङमी (७०), धनबल सोङमी (४६), सरला सोङमी (४२) र १४ वर्षीया प्रकृती सोङमीको मृत्यु भएको छ।

सूर्योदय–१ मानेभञ्याङमा राजु क्षेत्रीको घरमा गएको पहिरोमा मनमाया क्षेत्री (६५), रस्मिका क्षेत्री (१०), दोलखाका दिप बस्नेत (४५), उनकी श्रीमती भवानी बस्नेत (४४) र छोरी दिव्या बस्नेत (१२) मरेका छन्।

देउमाई–५ ढुसेनीमा दिपक लिम्बुको घरमा गएको पहिरोले दिपक (३०), श्रीमती ऋषिका लिम्बु (२७), छोरी दिपिस्का लिम्बु (१०), भतिजा सौजन लिम्बु (९) र सौगात लिम्बु (११) को ज्यान लिएको छ। त्यस्तै, झारेमा मनकुमार लिम्बुको घरमा गएको पहिरोले छोरा रोशन लिम्बु (२२) र बुहारी बेबिसा राई (२२) को मृत्यु भएको छ।

माङसेबुङ–१ पार्टी गाउँमा मदन लिम्बुको घरमा गएको पहिरोले आमा कृष्णमाया लिम्बु (५७), फुपु माया लिम्बु (५०) र पाँचथर मिक्लाजुङकी १७ वर्षीया नेहा राईको ज्यान लिएको छ। फाकफोकथुम–३ रातमाटेमा २८ वर्षीय सुरेश लिम्बु पहिरोमा पुरिएका छन्। माईजोगमाई–६ ओडारेमा भक्तबहादुर थेवेको घरमा गएको पहिरोले २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे र ३ वर्षीया मुनुसा थेवेको ज्यान लिएको छ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार हालसम्म ५ जनाको सकुशल उद्धार गरिएको छ। अन्य बेपत्ता व्यक्तिको खोजी र राहत कार्य जारी रहेको छ। प्रभावित क्षेत्रमा स्थानीय बासिन्दा, नेपाली सेना र सशस्त्र प्रहरी परिचालित छन्।

अधिकारीहरूले भनेका छन् कि इलामका विभिन्न बस्तीमा अझै पहिरोको जोखिम उच्च छ र मौसम खुल्न नपाउँदासम्म उद्धारमा कठिनाइ भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट