नेपाल भौगर्भिक समाजले अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस भोलि मनाउँदै

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा नेपाल भौगर्भिक समाजले शुक्रबार काठमाडौँमा एक विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। समाजले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको र यसमा विज्ञ तथा सरकारी निकायका उच्च अधिकारीहरूको भव्य उपस्थिति रहने जनाएको छ।
नेपाल पर्यटन बोर्डको हलमा बिहान ९ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा नेपालले सामना गर्दै आएका प्राकृतिक विपद्हरूको प्रकृति, कारण र न्यूनीकरणका उपायबारे गहन छलफल हुनेछ। समाजले यस वर्षको नारा आज सामर्थ बढाऔँ, भोलिको विपद् टारौ भन्ने मूल नारा राखेको छ । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक, विपद् विज्ञ र अध्येताहरूले कुल सातवटा कार्यपत्र प्रस्तुत गर्ने समाजका अध्यक्ष भास्कर खतिवडाले जानकारी दिएका छन् ।
प्रस्तुतीकरणहरू नेपालका प्रमुख विपद्हरू जस्तै: भूकम्प, बाढी, पहिरो र हिमपहिरोमा केन्द्रित हुनेछन्। यसका साथै, काठमाडौँ उपत्यकामा जमिनमुनिको पानी रित्तिँदै जाँदा उत्पन्न जोखिम र मधेश प्रदेशमा देखिएको पानीको समस्याजस्ता विषयमा भएका नयाँ अनुसन्धानका निष्कर्षहरू पनि सार्वजनिक गरिनेछ।
कार्यक्रममा नेपाल सरकारका उच्च पदाधिकारीहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकारीहरूको सहभागिता रहनेछ।
समाजका अध्यक्ष खतिवडाले नेपालमा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा लामो समयदेखि कार्यरत विज्ञ र अनुसन्धानकर्ताहरूको सहभागिताले कार्यक्रम निकै फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।
"कार्यक्रममा विज्ञहरुका सुझाव तथा अनुसन्धानका निष्कर्षहरूलाई सम्बन्धित सरकारी निकायहरूमा पेस गरिनेछ," समाजका उपमहासचिव गोविन्द ओझाले भने, "यसले भविष्यमा नेपालमा आइपर्ने विपद् जोखिम न्यूनीकरणका लागि राष्ट्रिय स्तरमा नीति निर्माण गर्न महत्वपूर्ण टेवा पुग्ने हाम्रो विश्वास छ।"
तपाईको प्रतिक्रिया दिनुहोस