Techie IT
२०८३ वैशाख २२, मंगलबार

एअर इन्डिया दुर्घटना प्रकरण: स्विच कस्ले बन्द गर्यो भन्ने विवाद झन बल्झियो


गत वर्ष २६० जनाको ज्यान लिने गरी भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाको सत्यतथ्यमाथि भारतीय पाइलटहरूले गम्भीर प्रश्न उठाएका छन्। दुर्घटनाको दोष पाइलटमाथि थुपार्ने प्रयास भइरहेको भन्दै भारतीय पाइलट महासङ्घ (ICPA) ले विद्युतीय प्रणालीको त्रुटिमाथि पुनः गहिरो अनुसन्धान गर्न माग गर्दै उड्डयन मन्त्रालयमा औपचारिक पत्र बुझाएको छ।

दुर्घटनाको कारण 'पाइलट एरर' कि प्राविधिक 'ग्लिच'?
जुन १२, २०२५ मा भएको बोइङ ७८७–८ ड्रीमलाइनर दुर्घटनाबारे विमान दुर्घटना अनुसन्धान ब्युरोले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले 'इन्धन आपूर्ति बन्द' हुनुलाई मुख्य कारण मानेको थियो। यसले घुमाउरो पारामा पाइलटको गल्तीलाई इङ्गित गरे पनि पाइलट महासङ्घले भने यसलाई 'विद्युतीय प्रणालीको गम्भीर गडबडी' को परिणाम हुन सक्ने दाबी गरेको छ।

उडान सुरु हुनुअघि नै विद्युतीय प्रणालीमा देखिएको समस्याले गर्दा पाइलटको हस्तक्षेपबिना नै 'रिले' सञ्चालन भई इन्जिनमा इन्धन आपूर्ति ठप्प भएको हुन सक्ने आकलन गरिएको छ । मिडिया रिपोर्टहरूले अनुसन्धान पूरा नहुँदै पाइलटलाई दोषी देखाइरहेकोमा महासङ्घको तीव्र असन्तुष्टि छ।

"पाइलटको कुनै पनि इनपुट बिना नै अनपेक्षित रूपमा दुवै इन्जिनमा इन्धन आपूर्ति बन्द हुन सक्ने वैज्ञानिक सम्भावना छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (ICAO) को मापदण्डअनुसार यस्ता प्राविधिक पक्षको पूर्ण जाँच नगरी कसैलाई दोषी ठहर गर्न नमिल्ने महासङ्घले पत्रमा जनाएको छ ।

अन्तिम प्रतिवेदनअघि चर्कियो बहस
अहमदाबादबाट उडान भरेको केही समयमै विमानमा लागेको आगो र त्यसपछिको ठुलो मानवीय क्षतिले भारतीय उड्डयन क्षेत्रलाई नै स्तब्ध बनाएको थियो। दुर्घटनाको एक वर्ष पुग्नै लाग्दा र अन्तिम प्रतिवेदन आउनु केही समयअघि मात्र ५,००० भन्दा बढी पाइलटहरूको प्रतिनिधित्व गर्ने महासङ्घले यस्तो दाबी गरेपछि अनुसन्धान टोलीमाथि दबाब बढेको छ।

जुलाई १२ मा सार्वजनिक १५ पृष्ठ लामो प्रारम्भिक प्रतिवेदनमा टक्कर हुनु केही क्षणअघि इन्धन स्विच बन्द भएको तथ्य फेला परेको थियो। तर, त्यो स्विच पाइलटले बन्द गरेका हुन् वा प्राविधिक त्रुटिले आफैँ बन्द भयो भन्नेमा अनुसन्धान अहिलेसम्म मौन छ।

पाइलट समूहको यो नयाँ दाबीले आगामी महिना सार्वजनिक हुने अन्तिम प्रतिवेदनलाई कस्तो प्रभाव पार्छ र बोइङ ७८७ को सुरक्षा प्रणालीमाथि थप प्रश्न उठाउँछ कि भन्नेबारे विश्व उड्डयन क्षेत्रको ध्यान खिचिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट