महोत्तरीमा पानीले लियो चार बालिकाको ज्यान
महोत्तरीमा शुक्रबार डुबेर चार जना बालिकाको मृत्यु भएको छ। जिल्लाको मनरासिस्वा नगरपालिका र गौशाला नगरपालिकामा भएका छुट्टाछुट्टै घटनामा चार बालिकाले ज्यान गुमाएका हुन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँस्थित अङ्कुशी र जङ्घा नदीको दोभानमा नुहाउन गएका तीन बालिकाको डुबेर मृत्यु भएको हो। मृत्यु हुनेमा वीरेन्द्र भण्डारीकी १२ वर्षीया स्नेहाकुमारी भण्डारी, ६ वर्षीया शिवानीकुमारी भण्डारी तथा अजिज नदाफकी १२ वर्षीया अफसाना खातुन रहेका छन्।
प्रहरीका अनुसार शुक्रबार दिउँसो नुहाउने क्रममा उनीहरूको खुट्टा चिप्लिएपछि नदीमा डुबेका थिए। स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिए पनि उनीहरूको ज्यान बचाउन सकिएन।
यस्तै, गौशाला नगरपालिका–४ रजखोर गाउँमा नरेश महतोकी दुई वर्षीया छोरी दीपिका कुमारीको घर नजिकै खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले जानकारी दिए।
मृतक चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस