मनसुनको डरलाग्दो आकलन: ५१ हजार परिवार प्रभावित हुने प्रक्षेपण, सेनासहित २६ हजार फौज मैदानमा होमिने
काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपद् प्रतिकार्यका लागि २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। प्राधिकरणद्वारा स्वीकृत “मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३” अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जनशक्तिलाई मनसुन सुरु भएसँगै उच्च जोखिमयुक्त क्षेत्रमा तैनाथ गरिनेछ।
सम्भावित विपद् न्यूनीकरण तथा उद्धार कार्यलाई दु्रत र प्रभावकारी बनाउन सुरक्षा निकायलाई ‘फिल्ड’ मा खटाउने तयारी गरिएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिए। उक्त कार्ययोजनालाई गत वैशाख ३१ गते पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा बसेको कार्यकारी समितिको ३४औँ बैठकले स्वीकृत गरेको थियो।
प्राधिकरणले विगतका विपद्का घटना, क्षति तथा मौसम विज्ञान विभागको जोखिम विश्लेषणका आधारमा यस वर्ष मनसुनजन्य विपदबाट करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरेको छ। सम्भावित संकटलाई मध्यनजर गर्दै जोखिम क्षेत्रहरूमा १४ हजार स्थानीय स्वयंसेवकहरूलाई समेत परिचालन गरिने प्राधिकरणको तयारी छ।
यसैबीच, विपद् व्यवस्थापन कोषमा हाल ७ अर्ब ५६ करोड रुपैयाँ मौज्दात रहेको प्राधिकरणले जनाएको छ। उक्त रकमलाई केन्द्र, प्रदेश र जिल्लास्तरको समन्वयमा उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका कार्यमा तत्काल खर्च गरिने कार्ययोजनामा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस