Techie IT
२०८३ जेष्ठ १६, शनिबार

पहिरो र सडक मर्मतले देशभर यातायात प्रभावित, यी राजमार्ग पूर्ण बन्द


File Photo

देशका विभिन्न भागमा वर्षा, पहिरो तथा सडक मर्मतका कारण प्रमुख राजमार्ग र सडक खण्डहरू प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा बन्द गरिएका छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

फर्पिङ–काठमाडौं सडक खण्डमा ढलान कार्य जारी रहेकाले निर्माण सम्पन्न नभएसम्मका लागि सवारी आवागमन रोकिएको छ।

यस्तै, काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी हुँदै सञ्चालन हुने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

गण्डकी प्रदेशमा पनि पहिरोका कारण सडक सञ्जाल प्रभावित बनेको छ। म्याग्दी हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक खण्डका विभिन्न स्थानमा खसेका पहिरो हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथले, रघुगंगा गाउँपालिका–३ तल्लो बैसरी तथा रघुगंगा गाउँपालिका–१ उपल्लो बैसरी क्षेत्रमा खसेका पहिरो पन्छाएपछि सावधानीपूर्वक सवारी सञ्चालन भइरहेको छ।

त्यसैगरी, स्याङ्जाको गल्याङ नगरपालिका–८ कराडीस्थित सिद्धार्थ राजमार्गमा शुक्रबार बिहान खसेको पहिरोका कारण उक्त सडक खण्ड पनि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

उता, कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा पनि पहिरोको जोखिम बढेपछि यातायात सेवा प्रभावित भएको छ। नाम्खा गाउँपालिका–२ अन्तर्गत पर्ने हिल्सा–सिमिकोट सडक खण्डमा सम्भावित पहिरोको जोखिमलाई ध्यानमा राख्दै सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

सुरक्षा निकाय र सडक विभागले वर्षायाम सुरु भएसँगै पहिरो तथा बाढीको जोखिम बढेकाले अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न तथा सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट