Techie IT
२०८३ जेष्ठ २०, बुधबार

नयाँ दिल्लीमा भयानक आगलागी: २१ जनाको मृत्यु, १५ जना आईसीयूमा


तस्बिरः एपी

भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा रेस्टुरेन्टमा भीषण आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। नयाँ दिल्लीको मालवीय नगर क्षेत्रमा रहेको ‘लेमन ग्रीन’ नामक रेस्टुरेन्टमा बुधबार बिहान भएको आगलागीमा परी दर्जनौँ व्यक्ति घाइते भएका छन्। मृतकको सङ्ख्या अझै बढ्न सक्ने भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।

बुधबार बिहान करिब ८:५० बजे आगलागी भएलगत्तै दिल्ली अग्नि सेवा, दिल्ली प्रहरी र अन्य उद्धार टोलीहरू घटनास्थलमा परिचालन गरिएका थिए। उद्धारका लागि दुई वाटर टेन्डर, दुई वाटर बाउजर र द्रुत प्रतिक्रिया सवारीसाधनसहितका आपत्कालीन उपकरण प्रयोग गरिएको थियो। उद्धार टोलीले रेस्टुरेन्टको बेसमेन्टबाट तीन जनालाई जीवितै उद्धार गरी 'क्याट्स' एम्बुलेन्समार्फत अस्पताल पठाएको छ। आगलागीको कारण भने अझै खुल्न सकेको छैन।

आगलागीमा परी घाइते तथा जलेका व्यक्तिहरूलाई उपचारका लागि साकेतस्थित म्याक्स अस्पताल भर्ना गरिएको छ। अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार त्यहाँ पुर्‍याइएका ३९ जनामध्ये १८ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको थियो। हाल १५ जनाको आईसीयूमा उपचार भइरहेको छ, जसमध्ये आठ जनाको अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखिएको छ। सामान्य चोटपटक लागेका पाँच जनालाई भने उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

यसैबिच, उक्त दुःखद घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता र उपराज्यपाल तरणजीत सिंह सन्धूले गम्भीर दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट जनही दुई लाख भारतीय रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन्। मुख्यमन्त्री रेखा गुप्ताले सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मार्फत सरकारको प्रत्यक्ष निगरानीमा उद्धार कार्य भइरहेको बताउँदै दिल्ली अग्नि सेवा, प्रहरी, दिल्ली डिजास्टर म्यानेजमेन्ट अथोरिटी र क्याट्स एम्बुलेन्स सेवालाई तीव्र रूपमा परिचालन गरिएको जानकारी दिएकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट