बाढी–पहिरोले देशभर सडक सञ्जाल अस्तव्यस्त
देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा सडक मर्मतसम्भारका कारण प्रमुख राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन्। शुक्रबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरणअनुसार काठमाडौँ उपत्यकासहित बागमती र कोशी प्रदेशका विभिन्न सडकमा आवागमन प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने कतिपय सडकमा एकतर्फी यातायात मात्र सञ्चालन भइरहेको छ।
काठमाडौँ र मकवानपुरका दुई महत्त्वपूर्ण सडक खण्ड मर्मतका कारण करिब एक महिनासम्म पूर्ण रूपमा बन्द रहने भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ देउराली देवीस्थान क्षेत्रमा पहिरो खसेपछि सतुङ्गल–चित्लाङ सडक खण्ड जेठ १६ गतेदेखि अवरुद्ध छ। मर्मत कार्य जारी रहेकाले उक्त सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै एक महिना लाग्ने जनाइएको छ।
त्यसैगरी, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ हुँदै जाने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्ड पनि जेठ १५ गतेदेखि पूर्ण रूपमा बन्द छ। सडक मर्मत गर्नुपर्ने भएकाले यो मार्ग पनि करिब एक महिनासम्म सञ्चालनमा नआउने भएको छ।
उता, काभ्रेपलाञ्चोकमा पर्ने बीपी राजमार्गमा पनि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै वैशाख २२ गतेदेखि खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडक खण्डमा सबै प्रकारका सवारी साधन सञ्चालन रोकिएको छ।
कोशी प्रदेशमा बाढी र पहिरोले सडक सञ्जाललाई सबैभन्दा बढी प्रभावित बनाएको छ। पाँचथर जिल्लामा मात्रै तीन प्रमुख सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। याङवरक गाउँपालिका–२ दोभानस्थित मध्यपहाडी लोकमार्ग जेठ ८ गतेदेखि बन्द छ। यस्तै, सोही गाउँपालिकाको फलामे खोलास्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग जेठ २० गतेदेखि अवरुद्ध छ भने फिदिम नगरपालिका–४ माझीटार क्षेत्रमा आएको बाढीका कारण तमोर करिडोर सडक खण्ड पनि जेठ २१ गतेदेखि पूर्ण रूपमा बन्द भएको छ।
यद्यपि, केही सडकमा पहिरो पन्छाएर आंशिक रूपमा यातायात सञ्चालनमा ल्याइएको छ। भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा वैशाख १२ गते आएको बाढीले अवरुद्ध बनाएको मध्यपहाडी लोकमार्गमा हाल एकतर्फी सवारी आवागमन सञ्चालन गरिएको छ। यात्रुहरूको सुविधाका लागि वैकल्पिक मार्गको समेत व्यवस्था गरिएको छ।
त्यस्तै, संखुवासभाको मकालु गाउँपालिका–३ नयाँबस्ती क्षेत्रमा वैशाख २३ गते गएको पहिरोले प्रभावित बनाएको कोशी राजमार्गमा पनि हाल एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस