Techie IT
२०८३ श्रावण १९, मंगलबार

यी प्रमुख राजमार्ग अवरुद्ध, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


File Photo

काठमाडौं । लगातारको वर्षा, बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न प्रमुख राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। सडक विभागको पछिल्लो विवरणअनुसार आज बिहान ७ बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध रहेका छन्।

कोशी प्रदेशका तीन जिल्लामा बाढीले मुख्य राजमार्गहरूमा असर पुर्‍याएको छ। भोजपुर नगरपालिका–५ बोखिम र पाँचथरको याङवरक गाउँपालिका–२ दोभान क्षेत्रमा बाढीका कारण मध्यपहाडी लोकमार्ग प्रभावित भएको छ। त्यस्तै, इलाम नगरपालिका–९ राजदुवालीमा आएको बाढीले मेची राजमार्गमा अवरोध सिर्जना गरेको छ। यी तीनै स्थानमा हाल एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

बागमती प्रदेशअन्तर्गत बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको छ।

यस्तै, मकवानपुरको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक खण्डमा मर्मत कार्य जारी रहेकाले उक्त सडक आगामी एक महिनासम्म पूर्ण रूपमा बन्द रहने जनाइएको छ। सम्बन्धित निकायले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

गण्डकी प्रदेशमा पहिरोका कारण दुई महत्वपूर्ण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। लमजुङको बेसीसहर नगरपालिका–६ स्थित खरखरे भिरमा खसेको पहिरोले बेसीसहर–मनाङ सडक खण्ड ठप्प बनेको छ।

त्यसैगरी, नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–३ घोक्रफाँट क्षेत्रमा आज बिहान खसेको पहिरोले कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक विभागले वर्षायाममा यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट