Techie IT
२०८३ असार २०, शनिबार

कर्णालीमा बेपत्ता गाडी खोजीका लागि अत्याधुनिक उपकरणसहित गोताखोर टोली परिचालन


दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना भई नदीमा बेपत्ता भएको गाडी र यात्रुहरूको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको विशेष गोताखोर टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट खटिएको उक्त टोली अत्याधुनिक उपकरणसहित कार्यक्षेत्रमा ओर्लिएको हो।

सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा ४ जना गोताखोरसहितको टोली हिजो नै घटनास्थलतर्फ प्रस्थान गरेको र आज उपकरणसहित खोजी कार्यमा जुट्ने सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। खोजी कार्यलाई प्रभावकारी बनाउन टोलीले पानीमुनि तथा तीव्र बहावमा समेत काम गर्ने ‘सोनार क्यामरा’ र ‘म्याग्नेट’ (चुम्बक) जस्ता अत्याधुनिक उपकरणहरू प्रयोग गर्नेछ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ६०० देखि ७०० मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटनाको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख र माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसको टोली उद्धारमा जुटेको थियो। खोजी कार्यलाई थप तीव्र पार्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट समेत ६ जना गोताखोरसहितको टोली थप मद्दतका लागि खटिएको छ।

हालसम्म दुर्घटनास्थल भन्दा करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। नदीमा खसेको गाडी र अन्य यात्रुहरूको अवस्था भने अझै अज्ञात रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट