Techie IT
२०८३ असार २९, सोमबार

बैंककको बारमा भीषण आगलागी: २७ जनाको मृत्यु, शौचालयमा लुकेका अधिकांशको मृत्यु

प्रत्यक्षदर्शीका अनुसार आगो बारको स्टेज नजिक रहेको विद्युत् ‘कट–आउट स्विच’बाट सुरु भएको थियो


थाइल्याण्डको राजधानी बैंककस्थित एक लोकप्रिय बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

स्थानीय समयअनुसार सोमबार मध्यरातपछि भएको आगलागीमा १८ महिला र ९ पुरुषको ज्यान गएको प्रधानमन्त्री अनुतिन चानविराकुलले पुष्टि गरेका छन्। घटनास्थलबाट २७ शव फेला परेको र केही व्यक्ति अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रत्यक्षदर्शीका अनुसार आगो बारको स्टेज नजिक रहेको विद्युत् ‘कट–आउट स्विच’बाट सुरु भएको थियो। त्यसपछि विस्फोटसँगै आगो र बाक्लो धुवाँ तीव्र रूपमा फैलिँदा बारभित्र रहेका मानिसहरू भागाभाग गर्न बाध्य भएका थिए।

प्रधानमन्त्री चानविराकुलले आगलागीका बेला प्रस्तुति दिइरहेका एक सङ्गीतकारलाई उद्धृत गर्दै भने, “कट–आउट स्विचमा आगो सल्किएपछि केही क्षणमै विस्फोट भयो। त्यसपछि सबैजना धुवाँ र आगोबाट बच्न भाग्न थाले।”

उनका अनुसार धेरैजसो मानिस धुवाँबाट जोगिन भवनको पछाडिपट्टिको शौचालयमा लुकेका थिए। तर त्यहीँ निसास्सिएर अधिकांशको मृत्यु भएको र धेरै शव शौचालयभित्रै फेला परेको उनले बताए।

अग्निनियन्त्रकहरूले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिए पनि ठूलो मानवीय क्षति भइसकेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार अधिकांशको मृत्यु धुवाँका कारण निसास्सिएर भएको हुन सक्ने अधिकारीहरूको अनुमान छ।

बैंककका गभर्नर चाचार्ट सित्तिपुन्तले बारको भित्री भागमा प्रयोग गरिएका प्रज्वलनशील सजावटी सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको प्रारम्भिक निष्कर्ष सुनाएका छन्। साथै, आपत्कालीन निकासतर्फ टेबुल तथा अन्य सामग्रीले अवरोध गरेको हुन सक्ने आशंका पनि गरिएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा बारबाट आगोका ठूला लप्का निस्किरहेको, मानिसहरू चिच्याउँदै भागिरहेको तथा केही आगोले जलेको अवस्थामा बाहिर निस्किरहेको दृश्य देखिन्छ।

थाइल्याण्डमा यस्ता आगलागीका घटना यसअघि पनि पटक–पटक भएका छन्। यसअघि सन् २०२२ मा बैंकक नजिकैको एक बारमा भएको आगलागीमा २२ जनाको मृत्यु भएको थियो भने सन् २००९ मा बैंकककै एक नाइटक्लबमा आगलागी हुँदा ६६ जनाले ज्यान गुमाएका थिए। पछिल्ला घटनापछि पनि आगो तथा विद्युत् सुरक्षासम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै आलोचना हुँदै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट