नारायणगढ–मुग्लिन सडकमा 'रेड अलर्ट': लेदो खसेर राजमार्ग पूर्ण ठप्प
अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डका विभिन्न स्थानमा पहिरोसँगै लेदो खसेर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बाटोको अत्यधिक जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि यस सडक खण्डमा यात्रा गर्न पूर्ण रूपमा रोक लगाएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राति एक सूचना जारी गर्दै नागरिकको सुरक्षाका लागि सडक खण्डमा यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न विशेष अनुरोध गर्नुभएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डको सेतीदोभान लगायतका विभिन्न संवेदनशिल क्षेत्रमा माथिबाट निरन्तर लेदो र पहिरो खसिरहेकाले सडक सञ्चालन गर्न तत्काल सम्भव देखिएको छैन।
पहिरोका कारण बीच बाटोमै सयौँ यात्रु र सवारीसाधनहरू अलपत्र परेका छन्। सडक डिभिजन कार्यालयले राति साढे १० बजे दिएको जानकारी अनुसार, अलपत्र परेका एम्बुलेन्स तथा आकस्मिक सेवाका सवारीसाधनहरूलाई सुरक्षाकर्मीको समन्वयमा पहिरो ग्रस्त क्षेत्र पार गराउने र गन्तव्यतर्फ पठाउने कार्य भइरहेको छ।
लगातारको वर्षाले पहिरो पन्छाउन कठिनाइ भइरहेको र सडक खुलाउन प्राविधिक टोली तथा मेसिनहरू तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ। जोखिमपूर्ण मौसममा यात्रा गर्दा दुर्घटना हुन सक्ने भएकाले राजमार्गको ताजा अवस्था बुझेर मात्र यात्रा तय गर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न सुरक्षा निकायले अपिल गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस