सप्तकोसीमा बज्यो खतराको घण्टी: पानीको बहाव डेढ लाख क्युसेक नाघ्यो, २१ ढोका खोलिए
पूर्वी नेपालमा जारी लगातारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्न थालेको छ । बुधबार अबेर कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २ सय ३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पूर्वी पहाडी जिल्लाहरूमा वर्षा नरोकिएकाले नदीमा पानीको सतह अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
सप्तकोसीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये हाल २१ वटा खोलिएका छन् । ब्यारेजमा ५२ वटा मूल ढोका र ४ वटा नहर गरी कुल ५६ वटा ढोका रहेका छन् ।
कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघ्ने बित्तिकै जोखिमको सङ्केतस्वरूप ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिन्छ । सोहीअनुसार अहिले ब्यारेज क्षेत्रमा सतर्कता अपनाइएको छ ।
हिउँदमा शान्त देखिने सप्तकोसीले वर्षायाम सुरु हुनासाथ उग्र रूप लिने गरेको छ । यही कारण यो मौसममा नेपाल र भारत दुवै देशको ध्यान कोसीतर्फ सोझिने गर्दछ । विशेषगरी असार, साउन र भदौ महिनामा पूर्वी पहाडी तथा तराई क्षेत्रमा हुने भारी वर्षाका कारण सप्तकोसीको बहाव उच्च हुन गई आसपासका क्षेत्रमा डुबान र कटानको तीव्र जोखिम बढ्ने गर्छ ।
तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती गरी सातवटा ठूला नदी मिसिएर बनेको सप्तकोसी वर्षायाममा समुद्र जस्तै विशाल देखिन्छ भने हिउँदमा धेरैजसो स्थानमा बालुवाको बगरमा परिणत हुने गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस