Techie IT
२०८३ भाद्र १०, बुधबार

तिब्बतमा हिमताल विस्फोटको आशंका, मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक सुरु


रसुवाको सीमावर्ती क्षेत्र टिमुरे हुँदै भोटेकोशी र त्रिशूली नदीमा भीषण बाढी आएको छ। तिब्बततर्फ हिमताल विस्फोट भएको आशंका जल तथा मौसम विज्ञान विभागले गरेको छ। अचानक नदीको बहाव बढेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले कडा अपील गरेको छ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार आज भदौ १० गते बिहान करिब ९ बजेको समयमा तिब्बततर्फबाट टिमुरे नाका हुँदै ठूलो बाढी नेपाल प्रवेश गरेको हो। यो बाढी नियमित वर्षाका कारण नभई आकस्मिक रूपमा आएकाले तिब्बततर्फ हिमताल विस्फोट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। बाढीको वास्तविक कारण पत्ता लगाउन र पुष्टि गर्न विभागले चिनियाँ अधिकारीहरूसँग समन्वय गरिरहेको तथा उपग्रहबाट खिचिएका तस्बिर र प्राविधिक माध्यमहरूको सहायता लिइरहेको पराजुलीले जानकारी दिए।

भीषण बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेँसी लगायतका तटीय क्षेत्रहरूमा गम्भीर क्षति पुगेको छ। यस आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक सुरु भइसकेको छ।

चीनको तिब्बततर्फबाट आएको यस विनाशकारी बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन तथा उद्धार कार्य जारी छ। नदीहरूको तटीय क्षेत्र (मुग्लिनसम्म) मा उच्च जोखिम रहेकाले अर्को सूचना नआएसम्म सुरक्षित स्थानमा रहन सबैमा आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट