भोटेकोसी बाढीले विभिन्न परियोजनाबाट ९४७ जना सम्पर्कविहीन
भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले तयार पारेको विवरण अनुसार बाढीबाट सञ्चालनमा रहेका ८ र निर्माणाधीन ४ वटा आयोजनाहरू प्रत्यक्ष प्रभावित भएका छन्।
बाढीले क्षतिग्रस्त तथा प्रभावित ती आयोजनाहरूबाट कुल ९४७ जना जनशक्ति सम्पर्कविहीन रहेका छन्। केही आयोजनामा उद्धार तथा सकुशल रहेका व्यक्तिको सङ्ख्या स्पष्ट भए पनि धेरैजसो स्थानमा खोजी तथा उद्धार कार्य अझै जारी छ।
प्रमुख जलविद्युत् आयोजनाहरूको अवस्था:
माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट): सबैभन्दा ठूलो क्षति यसै आयोजनामा भएको छ। बाढीअघि १ हजार ४३३ जना कार्यरत रहेकामा ८७६ जनाको उद्धार भएको छ भने ५५७ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये ११५ जना मुख्य सुरुङ र हेडवर्क्स क्षेत्रमा फसेको आशङ्का गरिएको छ।
माथिल्लो त्रिशूली–३ ‘बी’ (३७ मेगावाट): यस आयोजनाबाट १९१ जना सम्पर्कविहीन रहेका छन्। सुरुङमा काम गरिरहेका २३ जना भने बाहिर निस्कन सफल भएका छन्। उनीहरूको खोजीका लागि एक्स्काभेटर परिचालन गर्ने तयारी गरिएको छ।
रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट): यहाँबाट ९३ जना सम्पर्कविहीन छन्। भूमिगत विद्युत्गृहमा कति जना फसेका छन् भन्ने यकिन हुन सकेको छैन। ४ जना बाढीको दुई दिनपछि भूमिगत डिस्चार्जबाट आफैँ बाहिर निस्किएका थिए भने ३ जना सुरक्षित स्थानमा पुगेका छन्।
लाङटाङ खोला (२० मेगावाट): यस आयोजनाबाट ४१ जना अझै सम्पर्कमा आएका छैनन्। सुरुङभित्र १५० मिटरसम्म पुगेर खोजी गरिएको र उद्धारलाई तीव्र बनाइएको छ। प्रारम्भिक विवरणमा १९ जनाको उद्धार भएको उल्लेख छ।
माथिल्लो त्रिशूली–३ ‘ए’ (६० मेगावाट): भूमिगत विद्युत्गृहमा मर्मतका लागि गएका ४२ जना सुरुङभित्रै फसेको अनुमान गरिएको छ। सुरुङभित्र ढुंगा, बालुवा र माटो थुप्रिएका कारण उद्धार टोलीलाई पुग्न कठिन भइरहेको छ।
चिलिमे जलविद्युत् केन्द्र (२२ मेगावाट): साइट कार्यालयमा कार्यरत ७१ जनामध्ये विद्युत्गृहमा काम गरिरहेका ६ जना सुरुङभित्र फसेका छन्। उनीहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाको विज्ञ टोली परिचालन भए पनि बुधबारसम्म पुग्न सकिएको छैन।
रसुवा–भोटेकोसी (१२० मेगावाट): यहाँबाट सम्पर्कविहीन भएकाको सङ्ख्या ४ रहेको छ। सुरक्षित स्थानमा पुगेका ३ जना चिनियाँ र २ जना नेपाली गरी ५ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
मैलुङ खोला (५ मेगावाट): विद्युत्गृहमा कार्यरत ७ जना एक सातासम्म पनि सम्पर्कमा आउन सकेका छैनन् र उनीहरूको अवस्था अज्ञात छ।
त्रिशूली जलविद्युत् केन्द्र (२४ मेगावाट): कार्यरत ७३ जनामध्ये ७० जना सकुशल रहेका छन् भने दुई सुरक्षागार्ड र एक कर्मचारी गरी ३ जना सम्पर्कविहीन छन्।
मध्य त्रिशूली गंगा (१५.६ मेगावाट): यस आयोजनाबाट २ जना बेपत्ता छन् भने १ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।
देवीघाट जलविद्युत् केन्द्र (१४.१ मेगावाट): केन्द्रबाट एक सुरक्षागार्ड सम्पर्कविहीन छन् भने अन्य कर्मचारीहरू सुरक्षित स्थानमा छन्।
नुवाकोट सौर्य आयोजना (२५ मेगावाट): १९.६ मेगावाट उत्पादन गर्ने यो सौर्य प्लान्ट पूर्णरूपमा क्षतिग्रस्त भएको छ। सात स्थानका प्लान्टमध्ये चार स्थानका प्लान्ट र कार्यालय तथा नियन्त्रण भवन बाढीले बगाएको छ। आयोजनामा कार्यरत सबै कर्मचारी सुरक्षित रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस