पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ पर्नुको कारण के हो ?
प्रधानमन्त्री शाह स्वदेश फर्किएको केही घण्टाभित्रै भएको यो गिरफ्तारीलाई न्यायपालिकाभित्रको अवाञ्छित हस्तक्षेप र राजनीतिक महत्त्वाकांक्षाको परिणाम रूपमा हेरिएको छ
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले गएराति काठमाडौंको महाराजगञ्ज (बाँसबारी) स्थित उनकै निवासबाट उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउको औपचारिक कारण हालसम्म खुलाइएको छैन। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनको "शासकीय मामिला एवं न्यायिक कामकारबाहीमा चलखेल गरेको" गम्भीर उजुरी र गुनासाहरू निरन्तर पुगिरहेको थियो।
सूत्रहरूका अनुसार, जबराको सक्रियता दुईवटा पाटोमा केन्द्रित थियो । उनले राजनीतिक महत्त्वाकांक्षा बढाउदै लगेका थिए । आफूलाई राजनीतिक गतिविधिमा जोड्दै उनी भावी लाभको पदका लागि सक्रिय बन्न थालेका थिए भन्ने स्रोतको दावि छ। यसैगरी उनले अदालतमा विचाराधीन संवेदनशील मुद्दाहरूमा निरन्तर रुचि र चासो देखाउँदै आएका थिए।
डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश भएपछि जबराले आफ्नो सक्रियता झनै बढाएका थिए। आफुले नै शर्मालाई प्रधानन्यायाधीश बनाउन भूमिका खेलेको दाबी गर्दै उनले भेट्न आउनेहरूसँग "अप्ठेरोमा परेकालाई सहजीकरण गरिदिने" आश्वासन दिने गरेको स्रोतको दाबी छ।
स्रोतका अनुसार जबरा निवासको शंकास्पद आवतजावत र बढ्दो निगरानीपछि यो कदम चालिएको हो। नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित 'टेरामक्स' प्रकरणको फैसला र वीरगञ्जका मेयर राजेशमानसिंहको सफाइ जस्ता संवेदनशील मुद्दाको सुनुवाइअघि समेत सरोकारवालाहरूले जबरालाई भेटेको खुल्न आएको छ।
त्यस्तै, दुई साताअघि विशेष अदालतका तीन न्यायाधीशहरूले प्रधानन्यायाधीश डा. शर्मासहित केही न्यायाधीशहरूलाई भेटेर काम गर्ने वातावरण नभएको गुनासो गरेका थिए। उक्त सूचना तत्काल प्रधानमन्त्री बालेन शाहको सचिवालयसम्म पुगेको थियो।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किएको केही घण्टाभित्रै भएको यो गिरफ्तारीलाई न्यायपालिकाभित्रको अवाञ्छित हस्तक्षेप र राजनीतिक महत्त्वाकांक्षाको परिणाम रूपमा हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस