Techie IT
२०८३ असोज १२, सोमबार

एसियन गेम्स क्रिकेट: नेपाल-श्रीलंका खेलमा वर्षाको उच्च जोखिम, वरियताका आधारमा छिनोफानो हुने


जापानमा जारी एसियन गेम्स अन्तर्गतको क्रिकेट प्रतियोगितामा वर्षा ठूलो बाधक बनेको छ। लगातारको वर्षाका कारण क्वार्टरफाइनलका दुई खेल खेलसमेत हुन नदिएर रद्द भएपछि भारत र पाकिस्तान सिधै सेमिफाइनलमा प्रवेश गरेका छन्।

आईसीसी वरियतामा माथिल्लो स्थानमा रहेको आधारमा खेल बिना नै यी दुई टोलीले सेमिफाइनलको टिकट पक्का गरेका हुन्। भारतको क्वार्टरफाइनल खेल अफगानिस्तानसँग तय भएको थियो भने पाकिस्तानको हङकङसँग। तर, लगातारको वर्षाका कारण दुवै खेलमा एक बल पनि फ्याँक्न सकिएन।

यसैबीच, भोलि हुने नेपाल र श्रीलङ्काबीचको क्वार्टरफाइनल खेलमा पनि वर्षाको जोखिम उच्च रहेको छ। खेलमा वर्षा बाधक बनेर नतिजाविहीन भएमा आईसीसी वरियताका आधारमा श्रीलङ्का सेमिफाइनलमा पुग्ने र नेपाल प्रतियोगिताबाट बाहिरिने खतरा छ। यसले नेपाली क्रिकेटप्रेमीहरूको ध्यान मौसम र नेपालको सम्भावना तर्फ केन्द्रित गराएको छ।

मौसम पूर्वानुमान अनुसार भोलि मङ्गलवार वर्षा हुने सम्भावना ८० देखि १०० प्रतिशतसम्म रहेको छ। विभिन्न मौसम एजेन्सीहरूले दिनभर बेलाबेलामा वर्षा भई ६ देखि २० मिलिमिटरसम्म पानी पर्न सक्ने आकलन गरेका छन्।

स्थानीय समय अनुसार बिहान ९ बजेका लागि तय गरिएको खेलको सुरुवातमै वर्षाको सम्भावना बढी छ । यद्यपि, बिहान १० देखि दिउँसो १२ बजेसम्म मौसममा केही सुधार आएमा र आउटफिल्ड सुकाउन सकिएमा ओभर घटाएर (कम्तीमा १०–१० ओभरको) खेल खेलाउन सकिने सम्भावना भने बाँकी नै छ ।

आईसीसीको नियमअनुसार खेलको नतिजा निकाल्न कम्तीमा ५–५ ओभरको खेल हुनुपर्ने प्रावधान छ। यसअघि भारत र जापानबीचको खेलमा पनि वर्षाले प्रभावित हुँदा ५–५ ओभर खेलाइएको थियो।

समूह चरणमा बलियो अफगानिस्तान र आयोजक जापानमाथि प्रभावशाली जित निकाल्दै नेपाल समूह विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो। नेपाली टोलीको उच्च मनोबल र प्रदर्शनका बीच मौसमले बाधा नपुर्याओस् भन्नेमा समर्थकहरू आशावादी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट