महाभारा डाँडामा पहिरो, ४ घरका १३ जना विस्थापित
पाँचथरको फाल्गुनन्द गाउँपालिका-४ चिलिङदिन र इलामको देउमाइ नगरपालिका-१ मैदानेको सिमानामा रहेको महाभारा डाँडामा गएको पहिरोका कारण १३ जना स्थानीय बासिन्दा विस्थापित भएका छन्। शुक्रबार साँझ ८ बजे महाभारा डाँडाबाट आएको पहिरोले चार घरलाई क्षति पुर्याएपछि ती परिवार विस्थापित भएका हुन्।
प्रहरीका अनुसार, पहिरोले बगेको लेदो घरभित्र पसेपछि इलाम देउमाइ नगरपालिका-१ का पासाङ शेर्पा, फुर्वा शेर्पा, दमु शेर्पा, र फुर्तिम्बा शेर्पाको परिवारलाई घर छोड्न बाध्य बनायो। पहिरोले पासाङका परिवारका ५ जना, फुर्वा, दमु र फुर्तिम्बाका परिवारका २–२ जना सदस्य गरी १३ जना विस्थापित भएका छन्।
रातभर पानी परेकाले क्षति थपिन सक्ने
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी मानबहादुर राईका अनुसार, पहिरोका कारण घरहरू लेदोले भरिएका छन्। प्रहरीले राति नै ती परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
रातभरी परेको वर्षाका कारण जिल्लाका अन्य ठाउँहरूमा पनि क्षति भएको हुनसक्ने अनुमान गरिएको छ, तर विस्तृत तथ्यांक संकलन हुन बाँकी रहेको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस