Techie IT
२०८३ श्रावण १०, आइतबार

१ रुपैयाँको सिक्कामा चुच्चे नक्सा र आकाश भैरव कायम, चौतर्फी विरोधपछि सरकारले सच्यायो डिजाइन


सरकारले एक रुपैयाँको नयाँ सिक्काको डिजाइन परिमार्जन गर्दै नेपालको नयाँ राजनीतिक (चुच्चे) नक्सा र आकाश भैरवको आकृति समावेश गर्ने भएको छ। मुस्ताङको ऐतिहासिक लो–घेकर (घार) गुम्बाको तस्बिर राख्ने अघिल्लो निर्णय चौतर्फी विवाद र आलोचनामा परेपछि सरकारले उक्त निर्णय सच्याउँदै नयाँ डिजाइन तयार पारेको हो।

अर्थ मन्त्रालय स्रोतका अनुसार नयाँ सिक्काको अन्तिम डिजाइन मन्त्रिपरिषद्‌बाट स्वीकृत गराउने प्रक्रिया अघि बढाइएको छ। मन्त्रिपरिषद्‌बाट निर्णय भएपछि नेपाल राष्ट्र बैंकले सिक्का टकमरी (मुद्रण) र बजारमा पठाउने औपचारिक प्रक्रिया थाल्नेछ।

यसअघि असार ३२ गतेको मन्त्रिपरिषद् बैठकले १ र २ रुपैयाँ दरका सिक्काको डिजाइन परिमार्जन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको थियो। राष्ट्र बैंकको सञ्चालक समितिको सिफारिस र अर्थ मन्त्रालयको प्रस्तावअनुसार उपल्लो मुस्ताङमा रहेको आठौँ शताब्दीको लो–घेकर गुम्बाको तस्बिर राख्ने निर्णय भएको थियो।

तर, उक्त नयाँ सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको ‘चुच्चे नक्सा’ हट्न लागेको खबर सार्वजनिक भएपछि पूर्वउपप्रधानमन्त्री भीम रावलसहित राजनीतिक वृत्त र नागरिकस्तरमा तीव्र विरोध भएको थियो ।

यसका साथै, लो–घेकर गुम्बा २०७२ को भूकम्पपछि अमेरिकी दूतावासको करिब ३ करोड रुपैयाँ सहयोगमा पुनर्निर्माण गरिएकाले चीनको सीमा नजिकै अमेरिकी सहयोगको संरचना सिक्कामा अंकित गर्दा भूराजनीतिक र कूटनीतिक संवेदनशीलता बढ्ने भन्दै सुरक्षा विज्ञहरूले समेत प्रश्न उठाएका थिए। त्यसपछि मन्त्रिपरिषद्ले राष्ट्र बैंकलाई डिजाइन परिमार्जन गरी पुनः प्रस्ताव पेस गर्न निर्देशन दिएको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार नयाँ सिक्कामा नेपालको चुच्चे नक्साका साथै आकाश भैरवको चित्र रहनेछ। सिक्कामा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको ६४ योगिनीको प्रतीकका रूपमा ६४ वटा थोप्ला भने यथावत् राखिनेछ।

डिजाइन परिमार्जनका साथै सिक्काको तौल, आकार र धातुमा पनि परिवर्तन गर्न लागिएको छ। हाल १ रुपैयाँको सिक्का बनाउन अंकित मूल्यभन्दा बढी (लगभग २ देखि २.५ रुपैयाँसम्म) खर्च हुने गरेकाले राष्ट्र बैंकले उत्पादन लागत घटाउन लागेको हो।

अब बन्ने नयाँ सिक्काहरू मिश्रित धातु (एलोय) को सट्टा 'स्टेनलेस स्टिल'बाट बनाइनेछ, जसले लागत घटाउनुका साथै वातावरणीय हिसाबले पनि उपयुक्त हुने राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले जानकारी दिएका छन् । नयाँ सिक्का उत्पादनका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरी सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई मुद्रणको जिम्मा दिइनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट