राष्ट्र बैंकद्वारा ३५ अर्ब निक्षेप सङ्कलनको आह्वान
नेपाल राष्ट्र बैंकले बजारको तरलता व्यवस्थापन गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब रुपैयाँ बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज सूचना जारी गर्दै १८० दिनको अवधिका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको हो ।
उक्त निक्षेपको बोलकबोल आज अपराह्न ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ भने ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । न्यूनतम १० करोड रुपैयाँ र १० करोडले भाग जाने गरी अधिकतम आह्वान रकमसम्म बोल गर्न पाइने यस प्रक्रियामा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ । साँवा तथा ब्याज भुक्तानी आगामी फागुन ३ गते हुने केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यसरी सङ्कलन गरिएको निक्षेप रकमलाई सम्बन्धित बैंकको लगानी पोर्टफोलियो र वैधानिक तरलता अनुपात (एसएलआर) मा गणना गर्न पाइने तर अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । साथै, बोल स्वीकृत भई तोकिएको दिनमा पर्याप्त मौज्दात नराख्ने संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा बन्देज लगाइने कडा नियमसमेत राखिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस