भोटेकोशी बाढी: भौतिक पूर्वाधारतर्फ ३० अर्बको क्षति
गत भदौ १० गते र त्यसपछि रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले मुलुकको भौतिक पूर्वाधारमा अपूरणीय क्षति पुर्याएको छ। सडक विभागले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै बाढीका कारण सडक र पुलमा मात्रै ३० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।
विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार क्षतिग्रस्त सडक र पुलहरूको स्थायी पुनर्निर्माण तथा मर्मतसम्भारका लागि करिब ५० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।
बाढीले रणनीतिक महत्त्वको ८० किलोमिटर लामो गल्छी–बेत्रावती–रसुवागढी सडक आयोजनामा सबैभन्दा ठूलो असर पुर्याएको छ। यस खण्डको करिब ४० किलोमिटर सडक बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको विभागले जनाएको छ। त्यस्तै, बाढीपछिको पहिरोले पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीर क्षेत्रमा पनि सडक अवरुद्ध पारेको छ। विभागले तत्काल सडक मर्मतका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरी काम सुरु गरिसकेको छ भने अवरुद्ध सडक खुलाउन १४ वटा हेभी उपकरणहरू परिचालन गरिएको छ। हाल बेत्रावती–धुन्चे सडक खण्ड खुलाउनु नै मुख्य चुनौती बनेको विभागको भनाइ छ।
बाढीले देशभर ३१ वटा पक्की पुल पूर्ण रूपमा नष्ट गरेको छ। आवागमन सहज बनाउन तत्काल ३ स्थानमा बेलिब्रिज जडान गर्ने प्रक्रिया अघि बढाइएको महानिर्देशक जैसीले जानकारी दिए। यस्तै, ५३ वटा झोलुङ्गे पुल बाढीले बगाएका छन्। सडक सम्पर्क टुटेका ठाउँमा विकल्पका रूपमा ५ स्थानमा अस्थायी तुइन हाल्ने पहल भइरहेको छ, जसमध्ये एक स्थानमा सञ्चालनमा आइसकेको छ।
प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि सरकारले इन्धन तथा ग्यास आपूर्तिका लागि वैकल्पिक मार्ग प्रयोग गर्ने भएको छ। कान्ति लोकपथबाट ग्यास र पेट्रोलियम पदार्थ ल्याउन पहल भइरहेको छ भने बीपी राजमार्गबाट पनि रातिको समयमा ग्यासका बुलेटहरू ल्याउने व्यवस्था मिलाइँदैछ। यसैबीच, कोदारी राजमार्ग भने हाल चालु अवस्थामा रहेको विभागले जनाएको छ।
बाढीका कारण खानेपानी क्षेत्रमा ६४ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। नुवाकोटको विदुर र बट्टार क्षेत्रमा खानेपानीको हाहाकार भएपछि समस्या समाधानका लागि १० लाख लिटर पानी लिफ्टिङमार्फत वितरण सुरु गरिएको छ। साथै, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) बाट ४ वटा ट्याङ्कर खानेपानी प्रभावित क्षेत्रतर्फ पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस