Techie IT
२०८३ भाद्र १७, बुधबार

विपद्बाट प्रभावित लघुवित्तलाई राष्ट्र बैंकको विशेष सहुलियत


नेपाल राष्ट्र बैंकले हालै गएको प्राकृतिक विपद्का कारण प्रभावित बनेका ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूका लागि शाखा कार्यालय स्थानान्तरण तथा समायोजनमा विशेष सहजता प्रदान गरेको छ। विपद्को समयमा वित्तीय सेवा अवरुद्ध हुन नदिन केन्द्रीय बैंकले यस्तो नीतिगत व्यवस्था गरेको हो।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले लघुवित्त संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै नयाँ व्यवस्था थप गरेको छ। संशोधित व्यवस्थाअनुसार एकीकृत निर्देशनको निर्देशन नं. १३-०८२ को बुँदा नं. ३ मा खण्ड (ख) थप गरी विपद् प्रभावित क्षेत्रका लघुवित्तलाई पूर्वस्वीकृति बिना नै शाखा सार्न सक्ने अधिकार दिइएको छ।

के छ नयाँ व्यवस्थामा?
वि.सं. २०८३ भदौ महिनामा आएको विनाशकारी प्राकृतिक विपद्का कारण रसुवा लगायतका प्रभावित क्षेत्रमा भौतिक संरचनामा क्षति पुगेका वा सेवा सञ्चालन गर्न पूर्ण रूपमा असहज भएका लघुवित्त संस्थाहरूले अब पूर्वस्वीकृति लिनुपर्ने छैन। संस्थाहरूले आफ्नै सञ्चालक समिति वा कार्यकारी निर्णयका आधारमा प्रभावित शाखालाई सुरक्षित स्थानमा स्थानान्तरण वा नजिकैको अर्को शाखामार्फत समायोजन गरी सेवा सुचारु गर्न सक्नेछन्।

तर, यसरी पूर्वस्वीकृतिबिना शाखा सार्दा वा समायोजन गर्दा नियमनकारी निकायलाई भने अनिवार्य रूपमा सूचना दिनुपर्नेछ। संशोधित निर्देशनमा शाखा स्थानान्तरण वा समायोजन भएको ७ दिनभित्र नेपाल राष्ट्र बैंकलाई औपचारिक जानकारी गराउनुपर्ने अनिवार्य सर्त राखिएको छ।

यसअघि विपद्को आपοत्कालीन अवस्थामा पनि शाखा सार्नका लागि राष्ट्र बैंकको पूर्वस्वीकृति तथा लामो प्रशासनिक प्रक्रिया कुर्नुपर्ने बाध्यता थियो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै गरिएको यो व्यवस्थाले संकटको बेलामा पनि स्थानीय स्तरमा वित्तीय सेवा र राहतका कामलाई निरन्तरता दिन ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट