जलविद्युत आयोजनाबाट वन कार्यालयको राजस्व चार गुणाले वृद्धि
जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग र वृक्षारोपणबापत बुझाएको राजस्व बढेपछि डिभिजन वन कार्यालयको आम्दानी चार गुणाभन्दा बढीले वृद्धि भएको छ।
आर्थिक वर्ष २०८१/८२ मा रु. १ करोड १६ लाख ३५ हजार २८ राजस्व सङ्कलन गरेको कार्यालयले आव २०८२/८३ मा रु. ५ करोड ३६ लाख ५३ हजार १३६ राजस्व सङ्कलन गरेको हो।
डिभिजनल वन अधिकृत बसन्तकेशव अधिकारीका अनुसार ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाले सरकारी वन क्षेत्र उपयोग तथा वृक्षारोपणबापत मात्रै रु. ५ करोड २९ लाख ४० हजार ३४१ राजस्व बुझाएको छ।
त्यस्तै, डाँडाखेत–राहुघाट १३२ केभी प्रसारण लाइन आयोजनाले रु. १ लाख ९४ हजार ८८१ र राहुघाट जलविद्युत् आयोजनाले वन क्षेत्र उपयोगबापत रु. ५ लाख १७ हजार ९१३ राजस्व बुझाएका छन्।
सङ्कलित राजस्वमध्ये रु. २ करोड ३३ लाख ३३ हजार ३१० सङ्घीय सरकारको वन विकास कोषमा र रु. ४५ लाख ४४ हजार ७५ मूल्य अभिवृद्धि कर (भ्याट) बापत जम्मा गरिएको छ। यस्तै, रु. २ करोड ९४ लाख २१ हजार ३२० प्रदेश सरकारको कोषमा दाखिला गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न प्रजातिका ३ हजार ६ सय किलोग्राम जडीबुटी, निगालोका ३० हजार टुसा, खुरु ५ हजार वटा, निजी आवादीको १ लाख ३५ हजार ५४० घनफिट काठ तथा १३ दशमलव ९३ चट्टा दाउरा बिक्री भएको छ।
यसैगरी, भिरमह १ हजार १ सय किलोग्राम, नागबेली पाउडर ५२० किलोग्राम, रातो च्याउ ८० किलोग्राम, लालीगुराँसको फूल ११ किलोग्राम र धुपीको पात ८ किलोग्राम निकासीको अनुमति दिइएको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस