काठमाडौं महानगरको छात्रवृत्ति परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
काठमाडौं महानगरपालिकाले जेठ १७ गते सञ्चालन गरेको कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अंक प्राप्त गरेका उम्मेदवारहरूको प्रारम्भिक योग्यताक्रमसहितको नतिजा सार्वजनिक गरिएको महानगरपालिकाले जनाएको छ।
उत्तीर्ण विद्यार्थीहरूले काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालय तथा कलेजहरूमा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्ने अवसर पाउनेछन्।
महानगरपालिकाले परीक्षार्थीहरूलाई आफ्नो नतिजा अनलाइनमार्फत हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षामा सहभागी विद्यार्थीहरूले आवेदन भरेको पोर्टलमा प्रवेश गरी आफ्नो रोल नम्बर, जन्ममिति र मोबाइल वा इमेलमार्फत प्राप्त पासवर्ड प्रयोग गरेर स्कोर कार्ड हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सक्नेछन्।
यस वर्ष पनि छात्रवृत्ति कार्यक्रमप्रति विद्यार्थीहरूको उल्लेखनीय आकर्षण देखिएको छ। महानगरपालिकाले आर्थिक अवस्था, समावेशिता तथा शैक्षिक पहुँचलाई मध्यनजर गर्दै संस्थागत विद्यालयहरूमा छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गर्दै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस