के कारणले बढ्दै छ विजुलीको विल ? के हो एनर्जी भ्याम्पायर ?
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रयोगमा नभएका विद्युतीय उपकरण स्ट्यान्डबाइमा राख्दा वा चार्जर प्लगमै जोडेर छोड्दा कुल विद्युत् खपतको ५ देखि २० प्रतिशतसम्म अनावश्यक रूपमा खर्च हुने बताएका छन्। उनले यस्तो निरन्तरको खपतलाई ‘एनर्जी भ्याम्पायर’ वा ‘फ्यान्टम इनर्जी’ भनिने उल्लेख गर्दै विद्युत्को मितव्ययी र सदुपयोग गर्न सबैमा आग्रह गरेका छन्।
नेपालमा विद्युत् उपभोक्ताको संख्या करिब ६० देखि ६५ लाख रहेकोले प्रत्येक घरमा हुने सानो परिमाणको अनावश्यक खपतले समग्र विद्युत् प्रणालीमा ठूलो प्रभाव पार्ने मन्त्री श्रेष्ठको भनाइ छ। विद्युतको अनावश्यक खपत घटाउँदा ट्रान्सफर्मरमा पर्ने अतिरिक्त भार कम हुने र आपूर्ति व्यवस्थापन सहज हुने बताउँदै उनले ट्रान्सफर्मरमा समस्या आएमा त्यसको असर उपभोक्ताले नै भोग्नुपर्ने बताए।
पछिल्ला बाढीहरूले ऊर्जा क्षेत्रमा पुर्याएको क्षति र जारी पुनःस्थापनाको कामलाई मध्यनजर गर्दै उनले आगामी जाडोयाममा विद्युतको प्रयोगमा थप संवेदनशील हुन आग्रह गरेका छन्।
यो मितव्ययिता आम नागरिकमा मात्र सीमित नराखी सरकारी कार्यालयहरूमा समेत लागू गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले राति कार्यालय बन्द भएपछि अनावश्यक बत्ती तथा विद्युतीय उपकरण बन्द गर्ने व्यवस्थाका लागि स्थानीय, प्रदेश र संघीय सरकारका प्रशासनिक निकायहरूसँग समन्वय भइरहेको जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस