बैंकिङ प्रणालीबाट १८ अर्ब खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन अवधिको '१ महिने निक्षेप संकलन उपकरण' बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार यस उपकरणका लागि २०८३ असोज १६ गते दिउँसो ३:०० बजेसम्म बोलकबोल खुला रहनेछ। इच्छुक तथा योग्य 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकको 'अनलाइन बिडिङ सिस्टम सफ्टवेयर' (OBSS) मार्फत बोलपत्र पेस गर्नुपर्नेछ। सहभागी संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा सोही अंकले भाग जाने गरी कुल १८ अर्ब रुपैयाँसम्म बोल गर्न सक्नेछन्।
उक्त निक्षेप असोज १६ गते नै निष्कासन हुनेछ भने यसको साँवा तथा ब्याज भुक्तानी २०८३ कात्तिक १३ गते हुनेछ। ब्याजदर बोलकबोलको माध्यमबाट (बहु-ब्याजदरमा समेत) निर्धारण हुनेछ र कम्ती ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकता दिइनेछ।
आह्वान गरिएको रकम बाँडफाँड गर्दा समान ब्याजदर परेमा 'प्रो-राटा' (आनुपातिक) आधार अपनाइने राष्ट्र बैंकले जनाएको छ। यसरी संकलन गरिएको निक्षेप अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात (SLR) तथा तरलता अनुपातमा गणना गर्न पाइनेछ। यो निक्षेप राष्ट्र बैंकबाहेक अन्य संस्थामा धितो राख्न सकिने तर तोकिएको मितिअगावै फिर्ता (Pre-mature भुक्तानी) नहुने स्पष्ट पारिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस