कक्षा १० को रजिस्ट्रेशन फाराम खुला, विद्यालयहरूलाई तोकिएको समयसीमाभित्र विवरण पठाउन आग्रह

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी, भक्तपुरले शैक्षिक सत्र २०८२ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि विद्यार्थीहरूको रजिस्ट्रेशन फाराम भर्ने प्रक्रिया सुरु भएको जनाएको छ।
जारी सूचना अनुसार, कक्षा ९ मा नाम दर्ता भइसकेका र तोकिएको शैक्षिक मापदण्ड पुरा गरेका विद्यार्थीहरूका लागि २०८२ सालको एसईई परीक्षा लिइनेछ । त्यसका लागि विद्यालयहरूले २०८२ जेष्ठ १२ गतेदेखि १६ गतेसम्म विद्यार्थीहरूको विवरण संकलन गरी रजिस्ट्रेशन फाराम भरिसक्नुपर्नेछ ।
विद्यार्थीहरूको रजिस्ट्रेशनका लागि विद्यालयहरूले विद्यार्थीको पूरा नाम, जन्म मिति, बाबु–आमाको नाम, नागरिकता, स्थायी ठेगाना लगायतका विवरणहरू आवश्यक कागजातसहित सम्बन्धित स्थानीय तहबाट प्रमाणित गराउनु पर्नेछ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशन अनुसार, कक्षा ९ मा अध्ययनरत तथा कक्षा ८ को वार्षिक परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई मात्र रजिस्ट्रेशनको अनुमति दिइनेछ। यस प्रक्रिया अन्तर्गत अनलाइन माध्यमबाट फाराम भर्न सकिने व्यवस्था पनि गरिएको छ। विद्यालयहरूले आवश्यक फाराम तथा फाराम भर्ने निर्देशिका राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र परीक्षा नियन्त्रण कार्यालयको www.see.gov.np वेबसाइटबाट डाउनलोड गर्न सक्नेछन् ।
राष्ट्रिय परीक्षा बोर्डले सबै विद्यालयहरूलाई तोकिएको समयसीमा भित्रै आवश्यक विवरण संकलन गरी प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ । तोकिएको मिति पछिको फाराम स्वीकार नगर्ने स्पष्ट जानकारी समेत दिइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस