Techie IT
२०८२ असार १, आइतबार

मनाङको विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी, दुई महिनामै ६० हजार आम्दानी

पढ्दै कमाउँदै कार्यक्रमका लागि हालसम्म विभिन्न आर्थिक वर्ष र चालु आवमा गरी रु १५ लाख विनियोजन भएको थियो ।


मनाङ । व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम यहाँ प्रभावकारी बनेको छ । विद्यालयमा सिकेका सीपले व्यावहारिक बनाउँदै विद्यार्थीलाई आयस्तरसँग जोड्न मद्दत पुगेको छ ।

यहाँको चामे गाउँपालिका–४ स्थित लोकप्रिय माध्यमिक विद्यालयले आफ्नै विद्यालय परिसरमा सैद्धान्तिक ज्ञानलाई प्रयोगमा ल्याउन तरकारीखेती गरिरहेको छ । जसको प्रयोगबाट सीप र बिक्रीबाट आम्दानी गर्न विद्यार्थीलाई सघाउ पुगेको छ । उत्पादन गरेको च्याउ र तरकारी सदरमुकाम चामे बजारमा बिक्री गर्दै आइएको विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले जानकारी दिए ।

व्यावसायिक शिक्षा, आत्मनिर्भरता र व्यावहारिक सीप विकासका लागि सञ्चालन गरिएको यस कार्यक्रम विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बनेको उनले बताए । विद्यालयले विगत तीन वर्षदेखि च्याउखेती गर्दै आइरहेको छ । चालु शैक्षिक सत्रको वैशाखदेखि जेठ २८ गतेसम्म मात्र १५० किलोग्राम च्याउ उत्पादन गरिएको प्रधानाध्यापक कोइरालाले जानकारी दिए ।

दुई महिनामा च्याउ तथा तरकारी बिक्री गरी करिब रु ६० हजार आम्दानी भएको विद्यालयका शिक्षक अमृत सापकोटाले जानकारी दिए । “च्याउसँगै विद्यालयले आलु, गोलभेँडालगायत तरकारीको खेती गरिएको छ । साथै समयानुसार खाद्यान्न उत्पादन गरी बिक्री गर्दै आएका छौँ”, उनले भने,“यसमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थी सहभागी भइरहेका छन् ।”     
    
विद्यालयले स्याउखेती गर्ने योजनासमेत बनाएको छ, तर जग्गा अभावले खेती गर्न समस्या भएको प्रधानाध्यापक कोइरालाले बताए । “हामीले व्यावहारिक कृषि शिक्षालाई केन्द्रमा राख्दै विद्यार्थीको क्षमता अभिवृद्धि गर्दै आएका छौँ । च्याउ र तरकारी उत्पादनसँगै अब हामी घरेलु साबुन उत्पादन गर्ने लक्ष्य लिएका छौँ । स्याउखेती योजनामा भए पनि जग्गा पाइसकेका छैनौँ”, उनले भने,“आगामी आर्थिक वर्षमा साबुन उत्पादन तथा बिक्री गर्ने लक्ष्य छ । विद्यार्थीलाई एक घण्टामा काम गरेबापत रु ५० प्रदान गर्दै आएका छौँ । कुटो, कोदालोलगायत औजार चलाउन नजानेका विद्यार्थीका लागि सिकाइ उपयोगी बनेको छ ।”     
    
पढ्दै कमाउँदै कार्यक्रमका लागि हालसम्म विभिन्न आर्थिक वर्ष र चालु आवमा गरी रु १५ लाख विनियोजन भएको थियो । विनियोजित बजेट बारी बनाउने, पराल किन्ने कार्यमा खर्च हुने गरेको छ । कृषि ज्ञान केन्द्र केन्द्रमार्फत प्राविधिक सहयोग भइरहेको र आवश्यक साझेदारी भइरहेको छ ।     
    
विद्यालयलाई कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (लमजुङ–मनाङ) र चामे गाउँपालिका कृषि शाखाबाट बीउबिजन, मल, प्राविधिक सहयोग तथा अन्य विविध सहयोग प्राप्त हुँदै आएको छ । यस्ता सहयोगले विद्यालयको कृषि कार्यक्रमलाई अझ सशक्त बनाएको विद्यालयले जनाएको छ ।     
    
विद्यार्थी जयराम थापाले विद्यालयले कृषि क्षेत्रमा पनि भविष्य छ भन्ने सिकाएको बताएका छन् । विद्यार्थीको पठनपाठनसँगै आयसँग जोडिँदा आफूहरूलाई निकै सहज भएको उनको भनाइ छ । “कृषि कर्मले खाजा खाने रकम जोहो भएको र प्राविधिक शिक्षाले भविष्यमा सहयोग पुग्नेछ”, थापाले भने ।     
    
आवासीय विद्यालय भएकाले खाद्यान्न खरिद तथा छात्रछात्रा बासको व्यवस्थापनमा सहयोग पुर्‍याउने गरी आम्दानी गर्ने लक्ष्य लिइएको विद्यालयले जनाएको छ । सकेसम्म विद्यार्थीबाट शुल्क लिन नपरोस् भनेर योजना बनाइएको छ । स्थानीय उपभोक्ताले विद्यालयको उत्पादनलाई ताजा, स्वच्छ र विषादीरहित भएको भन्दै खरिद गर्ने गरेका छन् । यस्ता कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावहारिक शिक्षा र उद्यमशीलताको बाटोतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ ।    



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट