Techie IT
२०८३ जेष्ठ ३०, शनिबार

अनुदानकै भरमा गण्डकीको बजेट: महत्त्वाकाङ्क्षी नीति, तर आन्तरिक स्रोत कमजोर


पोखरा। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखन अन्तिम चरणमा पुगेको छ। मन्त्रालयहरूलाई तोकिएको बजेट ‘सिलिङ’ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणाली (LMBIS) मा प्रविष्टि गर्ने काम भइरहेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ।

मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डिल्लीराम रिज्यालका अनुसार चालू खर्चतर्फको प्रविष्टि भइसकेको छ भने पुँजीगततर्फका योजना तथा कार्यक्रम प्रविष्टि गर्ने काम अन्तिम चरणमा पुगेको छ।

"आर्थिक विधेयक, विनियोजन विधेयक र मन्त्रालयगत प्रगति विवरण तयार भइसकेको छ। अहिले बजेट वक्तव्य लेखनको काम भइरहेको छ," महाशाखा प्रमुख रिज्यालले भने, "चालू आर्थिक वर्षकै हाराहारीमा बजेट आउने सम्भावना छ। तर, सङ्घीय सरकारको अनुदानमा हेरफेर भएकाले बजेटको आकार केही तलमाथि हुनसक्छ।"

प्रदेश सरकारले चालू आवका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको थियो। प्रदेशको आफ्नै आन्तरिक स्रोत बढ्न नसक्दा बर्सेनि बजेट निर्माणमा सरकारलाई चर्को दबाब पर्ने गरेको छ।

स्थानीय तह, निजी क्षेत्रलगायत सरोकारवाला पक्षहरूसँग ‘प्रि–बजेट’ छलफल गरी प्राप्त सुझाव र परामर्शका आधारमा बजेटलाई अन्तिम रूप दिन लागिएको मन्त्रालयले जनाएको छ।

यसअघि आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण, नवप्रवर्तन र स्टार्टअप कार्यक्रमलाई प्राथमिकता दिइएको थियो।

यही जेठ १९ गते प्रदेश प्रमुख डिल्लीराज भट्टद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा पनि कृषि र पर्यटनलाई नै मुख्य जोड दिइएको छ। दोस्रो पञ्चवर्षीय योजनालाई आधार बनाएर यसपटक कार्यान्वयनयोग्य र यथार्थपरक बजेट ल्याउने मन्त्रालयको दाबी छ। नेपालको संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते अनिवार्य रूपमा बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट