देशभर डेंगु संक्रमितको संख्या ३ हजार नाघ्यो
_2.png)
गत पुस महिनादेखि हालसम्म ३ हजार १३० जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भइसकेको छ । हालसम्म डेंगु ७४ जिल्लामा फैलिएको छ भने पछिल्लो एक सातामात्र १९८ नयाँ संक्रमित थपिएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पछिल्ला तथ्यांकअनुसार प्रदेशगत विवरण यसप्रकार छः बागमतीमा ३०३, कोशीमा ४७, गण्डकीमा २९, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुका बिरामी देखिएका थिए। त्यसयता हरेक वर्ष यस रोगको संक्रमण देखिँदै आएको छ।
दुई दशक अघिसम्म काठमाडौं उपत्यकामा लामखुट्टे प्रायः देखिँदैनथ्यो। पहाडी र हिमाली क्षेत्रमा किराबाट सर्ने रोगहरू कमै मात्र फैलिन्थे। तर पछिल्ला वर्षमा तराईमा मात्र सीमित मानिने रोगहरू अहिले पहाड हुँदै हिमालसम्म पुगेका छन्।
जनस्वास्थ्यविद्हरूका अनुसार डेंगु फैलिनुका मुख्य कारणहरूमा बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो वर्षा तथा कम तापक्रममा समेत लामखुट्टे बाँच्न सक्ने क्षमता विकास हुनु पर्दछन्।
सामान्यतया १५ देखि ३५ डिग्री तापक्रममा लामखुट्टे वृद्धि हुन्छ। डेंगु भाइरस सार्ने लामखुट्टेका लागि भने १० देखि ४० डिग्री तापक्रम अनुकूल मानिन्छ।
विशेषज्ञहरूका अनुसार लामखुट्टेको आयु ३०–४० दिनसम्म भए पनि तिनले पारेका अण्डा वर्षौंसम्म बाँच्न सक्ने क्षमता राख्छन्। लार्भा सातदेखि १० दिनमा वयस्क बन्छ। डेंगु सार्ने एडिज जातका लामखुट्टे प्रायः दिउँसो मात्र टोक्छन्। संक्रमित पोथी लामखुट्टेले ५ एमएलभन्दा कम पानी जमेको तथा सफा पानीमा समेत अण्डा पार्न सक्छ।
डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भनेको ‘खोज तथा नष्ट अभियान’ हो। तर यसका लागि नागरिक स्वयं सचेत र जिम्मेवार बन्नु जरुरी छ। प्रायः दिउँसो सक्रिय रहने एडिज लामखुट्टेको टोकाइबाट बच्न कार्यस्थल र वरिपरिको क्षेत्र निरन्तर सफा राख्न विज्ञहरूले सुझाएका छन्।
लामखुट्टे नियन्त्रणका लागि पानी जम्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली ड्रम, टायरमा पानी जम्न नदिनु पर्छ। पानीको ट्याङ्कीलाई राम्रोसँग छोपेर राख्नुपर्छ।
एडिज लामखुट्टे दिउँसो टोक्ने भएकाले लामो बाहुला भएको वा शरीर ढाक्ने कपडा लगाउनुपर्छ। दिउँसो सुत्दा समेत झुल प्रयोग गर्नुपर्ने विज्ञहरूको सुझाव छ। साना केटाकेटीलाई दिन–रात जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ। लामखुट्टे भगाउने मलम प्रयोग गर्न सकिन्छ भने घरका ढोका–झ्यालमा जाली लगाउन चिकित्सकहरूले सिफारिस गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस