Techie IT
२०८२ भाद्र ८, आइतबार

चन्द्रनिगाहपुरमा एकैदिन १० जनाभन्दा बढीलाई कुकुरको आक्रमण


रौतहटको चन्द्रनिगाहपुरमा एकैदिन १० जनाभन्दा बढी स्थानीयलाई कुकुरले टोकेको घटना सार्वजनिक भएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पछाडि, दुर्गा मन्दिर र कर कार्यालय वरिपरिको क्षेत्रमा आएको कालो रङको कुकुरले स्थानीयलाई अन्धाधुन्ध आक्रमण गरेपछि त्रासको वातावरण बनेको हो।

चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालका अनुसार, सो कुकुरले टोकेकाहरू मध्ये एकजनालाई पटक–पटक आक्रमण गर्दा गहिरो चोट लागेको छ। अस्पतालले प्रारम्भिक उपचारपछि रेबिज खोप लगाएर थप इम्युनोग्लोबिन खोपका लागि बिरामीलाई नारायणी अस्पताल, बीरगञ्ज रेफर गरेको जनाएको छ।

शनिबार मात्रै १० जनाभन्दा बढी पीडित उपचारका लागि अस्पताल आएका छन्। “टोकेको संख्यामा अझै वृद्धि हुने सम्भावना छ, किनभने बिरामीहरू लगातार अस्पताल आइरहेका छन्,” अस्पतालका स्वास्थ्यकर्मीले बताए।

टोकेका पीडितमध्ये चन्द्रनिगाहपुर–४ का रामबाबु महतोले भने, “म मन्दिरतर्फ जाँदै गर्दा अचानक कुकुरले खुट्टामा टोक्यो। भागेर जोगिन खोज्दा पुनः पछाडि लागेर टोकेपछि म अस्पताल पुगेँ। अहिले निकै डर लागेको छ।”

त्यसैगरी चन्द्रनिगाहपुर–५ की सीता देवी दासले भनिन्, “कुकुरले टोकेको सुनेर बच्चा बोकेर बाहिर निस्कनै डर लागेको छ। नगरपालिका र प्रहरीले तत्काल नियन्त्रण गर्नुपर्छ।”

कुकुर अझै अनियन्त्रित रहेकाले स्थानीय त्रसित बनेका छन्। उनीहरूले चन्द्रपुर नगरपालिका, प्रहरी प्रशासन र सम्बन्धित निकायलाई कुकुर नियन्त्रणका लागि तत्काल कदम चाल्न माग गरेका छन्।

स्थानीय समाजसेवी बसन्त आचार्यले भने, “यो सामान्य घटना होइन। एकैदिन यति धेरैलाई टोकेको छ भने यो सार्वजनिक स्वास्थ्यसँग जोडिएको खतरनाक विषय हो। नगरपालिकाले तत्काल टोली बनाएर नियन्त्रण गर्नुपर्छ।”

अस्पतालले पनि स्थानीयलाई अनावश्यक रूपमा बाहिर ननिस्कन सावधानी अपनाउन आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट