निःशुल्क क्यान्सर परीक्षण हुदै, महानगर र वीर अस्पतालबीच यस्तो छ सम्झौता
महिलामा देखिने स्तन तथा पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिका र वीर अस्पतालबीच सम्झौता भएको छ।
सोमबार महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र वीर अस्पतालका निर्देशक प्रा. डा. दिलीप शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको पनि उपस्थिति रहेको थियो।
कार्यवाहक प्रमुख डङ्गोलले क्यान्सरका कारण धेरै महिलाले अकालमै ज्यान गुमाइरहेको उल्लेख गर्दै नियमित परीक्षण नै समयमै रोग पहिचान गर्ने प्रभावकारी उपाय भएको बताइन्।
अस्पतालका निर्देशक प्रा. डा. शर्माले स्तन तथा पाठेघरको मुखको क्यान्सरबाट बच्न समयमै स्क्रिनिङ गराउनु अत्यन्त आवश्यक रहेको बताए।
स्वास्थ्य विभाग प्रमुख केसीका अनुसार महानगरभित्रका ३० देखि ६० वर्ष उमेर समूहका महिला, गत वर्ष परीक्षणबाट छुट भएका तथा पहिले पोजेटिभ देखिएका महिलाहरूलाई प्राथमिकतामा राखेर परीक्षण र प्रारम्भिक उपचार गरिनेछ।
उनका अनुसार क्यान्सर परीक्षण कार्यक्रम चैत १६ गतेदेखि सुरु हुनेछ र दैनिक १०० देखि १२० जनासम्मको परीक्षण गरिनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस