'खोप'लाई दोष दिँदै जुम्ल्याहा शिशुको हत्या गर्ने अमेरिकी आमा जेल चलान
आफ्नै १८ महिनाका जुम्ल्याहा शिशुको श्वास थुनेर हत्या गरेको अभियोगमा पक्राउ परेकी एक अमेरिकी महिलालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। अमेरिकाको इडाहो राज्यकी २३ वर्षीया एन्ड्रिया शाले आफ्ना शिशुहरूको मृत्यु नियमित बाल खोपका कारण भएको दाबी गर्दै आएकी थिइन्। तर, प्रहरीको विस्तृत अनुसन्धानले उनैले शिशुहरूको श्वास अवरुद्ध गरी हत्या गरेको पुष्टि गरेको थियो ।
आरोपित शा खोपविरोधी संस्था ‘चिल्ड्रेन्स हेल्थ डिफेन्स’ ले दायर गरेको एउटा मुद्दाकी मुख्य वादीसमेत हुन्। यो संस्थाको स्थापना र नेतृत्व वर्तमान अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले गरेका थिए।
शाले सन् २०२५ को मे महिनामा जुम्ल्याहा शिशुहरूको मृत्यु भएपछि आफूले उनीहरूलाई ओछ्यानमा अचेत अवस्थामा फेला पारेको दाबी गरेकी थिइन्। फ्लू, हेपाटाइटिस–ए र टिटानसको सुई लगाएको आठ दिनपछि खोपकै कारण उनीहरूको मृत्यु भएको भन्दै उनले सामाजिक सञ्जाल र खोपविरोधी अभियानमा यसको प्रचार गरेकी थिइन्।
उत्तरपश्चिमी इडाहोस्थित पेएट प्रहरी विभागको लामो अनुसन्धानले शिशुहरूको मृत्यु प्राकृतिक नभई श्वास रोकेर गरिएको हत्या भएको ठहर गर्यो।
स्वास्थ्य विज्ञहरूका अनुसार नियमित बाल खोपले श्वासप्रश्वास अवरुद्ध हुने कुनै वैज्ञानिक प्रमाण छैन।
आनुवंशिक रूपमा समान नभएका (Non-identical) जुम्ल्याहा शिशुको एउटै समयमा खोपको 'प्रतिकूल प्रतिक्रिया' बाट मृत्यु हुनु चिकित्सकीय दृष्टिकोणले असम्भव प्रायः मानिन्छ।
मङ्गलबार भएको अदालती सुनुवाइमा शाका वकिल जोसेफ फिलिसेट्टीले उनलाई ‘मायालु र जिम्मेवार आमा’ दाबी गर्दै प्रतिरक्षा गर्ने प्रयास गरेका थिए। मृत्युदण्डसम्मको सजाय हुन सक्ने अभियोग सामना गरिरहेकी शाले पक्राउ पर्नुभन्दा केही दिनअघि मात्र जन्मिएकी आफ्नी नवजात छोरीसँग बस्न पाउनुपर्ने भन्दै २० लाख डलरको धरौटी रकम घटाउन माग गरेकी थिइन्।
तर, न्यायाधीश किली स्टुचलिकले अपराधको गम्भीरतालाई ध्यानमा राख्दै धरौटीमा रिहा गर्न अस्वीकार गरिन् र उनलाई पुर्पक्षका लागि थुनामै पठाउन आदेश दिएको इडाहो स्टेट्सम्यानले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस