बिपी कोइराला क्यान्सर अस्पतालमा पेट स्क्यान जडान गरिदै
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक ‘पेट स्क्यान’ (PET Scan) उपकरण जडान गर्ने प्रक्रियाले गति लिएको छ । लामो समयदेखि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र भवन संरचनाको अभिलेखीकरणमा अल्झिएको उक्त आयोजना अब बोलपत्र आह्वानको चरणमा पुगेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार यस पटक सम्पूर्ण प्रक्रिया पूरा गरी काम अघि बढेको छ । सरकारले चालू आर्थिक वर्षका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । अस्पतालले ‘टङ्की’ (Turnkey) परियोजनामार्फत बोलपत्र आह्वान गर्ने तयारी गरेको छ, जसमा मेसिन खरिद, बङ्कर निर्माण, जडान र प्राविधिक तालिम एउटै ठेक्कामार्फत हुनेछ । यो आयोजना सम्पन्न गर्न करिब एक अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
पेट स्क्यानका लागि आवश्यक पर्ने ‘आइसोटोप’ को अभाव हटाउन अस्पतालले ‘साइक्लोट्रोन’ (Cyclotron) मेसिनसमेत यहीँ जडान गर्ने योजना बनाएको छ । हाल निजी क्षेत्रका अस्पतालहरूले भारतबाट हवाई मार्गमार्फत आइसोटोप मगाउने गर्दछन्, जसको प्रभावकारिता ७–८ घण्टाभन्दा बढी रहँदैन । डा. नेपालका अनुसार स्वदेशमै आइसोटोप उत्पादन भएपछि सेवा भरपर्दो हुनुका साथै निजी क्षेत्रलाई बिक्री समेत गर्न सकिनेछ ।
पेट स्क्यान उपकरणले क्यान्सरको छिटो पहिचान, रोगको अवस्था र उपचारपछिको प्रभावकारिता जाँच्न महत्त्वपूर्ण भूमिका खेल्छ । हाल यस सेवाका लागि बिरामीहरू महँगो शुल्क तिरेर निजी अस्पताल जान वा भारतलगायतका देश धाउन बाध्य छन् । सरकारी अस्पतालमा यो सेवा सुरु भएपछि उपचार शुल्कमा भारी कटौती हुने विश्वास गरिएको छ ।
क्यान्सर अस्पतालले हाल ५०० शय्यामध्ये ३५० शय्यामा बिरामीलाई खानासहित निःशुल्क सेवा प्रदान गर्दै आएको छ । ‘क्याबिन’, ‘पेइङ वार्ड’, ‘आईसीयू’ र ‘डे–केयर’ जस्ता सेवामा भने अस्पतालले न्यून शुल्क लिने गरेको छ । स्रोतसाधनको सीमितताका बाबजुद अस्पतालले देशभरका र भारतीय सीमा क्षेत्रका बिरामीलाई सेवा दिइरहेको प्रशासनले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस