Techie IT
२०८३ श्रावण २६, मंगलबार

कंगोमा इबोला महामारीबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

कंगोमा फैलिएको यो इबोलाको १७औँ प्रकोप हो


प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ। त्यहाँको सार्वजनिक स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार यो महामारीका कारण हालसम्म २ हजार ११ जनाको मृत्यु भइसकेको छ।

देशका पाँचवटा प्रान्तमा फैलिएको यस प्रकोपबाट कुल संक्रमितको संख्या ४ हजार ३८१ पुगेको छ। स्थानीय स्वास्थ्य अधिकारीहरूले यो प्रकोपलाई इतिहासकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको इबोला महामारीमध्ये एक भएको बताएका छन्। पहिलो १ हजार मृत्यु दर्ता हुन ९ हप्ता लागेको भए पनि त्यसपछि संख्या दोब्बर बन्न जम्मा ३ हप्ता मात्रै लागेको थियो।

कंगोमा फैलिएको यो इबोलाको १७औँ प्रकोप हो। यसपटक दुर्लभ मानिने 'बुन्डिबुग्यो' स्ट्रेनका कारण संक्रमण फैलिरहेको छ। यस स्ट्रेनविरुद्ध हालसम्म कुनै पनि स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन। जसका कारण यसपटक मृत्युदर (केस फ्याटलिटी रेट) करिब ४६ प्रतिशत पुगेको छ।

प्रभावित क्षेत्रमा जारी विद्रोही द्वन्द्व, कच्ची बाटो, समयमै परीक्षण र पहिचान हुन नसक्नु तथा स्वास्थ्यकर्मीहरूको हडतालका कारण भाइरस अनियन्त्रित रूपमा फैलिरहेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कंगोको यस प्रकोपलाई गम्भीर रूपमा लिँदै संक्रमण छिमेकी देशहरूसम्म पुग्नसक्ने चेतावनी दिएको छ। साथै, अधिकांश नयाँ बिरामीहरू निगरानी बाहिरबाटै भेटिनुले संक्रमण स्वास्थ्यकर्मीहरूको नियन्त्रण बाहिर जाँदैगएको संकेत गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट