घुर्ने समस्याले यसरी पार्दैछ मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर
के तपाईं कहिल्यै घुर्ने साथीको छेउमा सुतेर भोलिपल्ट उठ्दा अत्यधिक तनाव, एकाग्रतामा कमी र मानसिक थकान महसुस गर्नुभएको छ? सुत्दा घुर्ने समस्यालाई धेरैले सामान्य झन्झट वा हलुका रूपमा लिने गरे पनि विज्ञहरूले यसले स्वास्थ्यमा पार्ने गम्भीर असरप्रति गम्भीर चेतावनी दिएका छन्।
स्लीप मेडिसिनमा विशेष रुचि राख्ने दन्त चिकित्सा विशेषज्ञ डा. क्लेयर साइमनका अनुसार सुत्ने बेला माथिल्लो श्वासप्रश्वास नलीका नरम तन्तुहरूमा हुने कम्पनका कारण मानिसले घुर्नेगर्दछ । ब्रिटिश स्नोरिंग एन्ड स्लीप एप्निया एसोसिएसन (बीएसएसएए) का अनुसार बेलायतको करिब ४० प्रतिशत वयस्क जनसङ्ख्या घुर्ने समस्याबाट पीडित छन् । जसमा महिलाको तुलनामा पुरुषहरूको सङ्ख्या बढी छ। त्यस्तै, अमेरिकाको स्लीप फाउन्डेसनको सर्वेक्षणले घुर्ने साथीसँग बस्ने ७५ प्रतिशत मानिसको निद्रा प्रभावित हुने गरेको देखाएको छ।
स्मरणशक्ति र एकाग्रतामा गम्भीर असर
एयरोक्स हेल्थका सल्लाहकार अर्थोडन्टिस्ट तथा निद्रा विशेषज्ञ प्रोफेसर अमा जोहलका अनुसार, पार्टनरको असहनीय घुराइबाट आजित भएर उठेर अर्को कोठामा सुत्न जानु धेरैका लागि अन्तिम विकल्प बन्ने गरेको छ।
शारीरिक थकान मेटाउन र स्वास्थ्यलाई सुदृढ राख्न ९० मिनेटको चक्रमा हुने 'डीप स्लीप' (गहिरो निद्रा) अत्यधिक महत्त्वपूर्ण हुन्छ। तर, बारम्बार निद्रा टुट्दा शरीरले उक्त पुनर्स्थापनात्मक चरणमा पर्याप्त समय बिताउन पाउँदैन। नतिजा, ओछ्यानमा घण्टौँ बिताए पनि मानिसले चरम थकान महसुस गर्छ। निद्राकै बेला मस्तिष्कले दिनभरका सूचनाहरूलाई प्रशोधन र सञ्चय गर्ने भएकाले यसमा आउने अवरोधले स्मरणशक्ति र एकाग्रतामा सीधा असर पार्छ।
तनाव र भावनात्मक प्रतिक्रिया नियन्त्रण गर्ने मस्तिष्कको प्रणालीमा समेत असन्तुलन आउँदा व्यक्तिमा अत्यधिक चिडचिडापन बढ्ने गरेको पाइएको छ। यस समस्याले पार्टनरहरूको आपसी सम्बन्धमा समेत दरार ल्याउन सक्ने विज्ञहरू बताउँछन्।
समाधान के छ ?
विशेषज्ञहरूका अनुसार घुराइको समस्या सामान्य हो वा गम्भीर रोग (जस्तै: स्लीप एप्निया) हो भन्ने पहिहिचान गर्नु जरुरी छ। स्लीप एप्निया हुँदा सुतेको बेला श्वासप्रश्वास बारम्बार रोकिने र खुल्ने हुन्छ।
साधारण घुराइमा जीवनशैली परिवर्तन गर्नुपर्ने हुन्छ जस्तै- तौल घटाउने, धुम्रपान त्याग्ने, सुत्नुअघि मदिरा सेवन कम गर्ने र उत्तानो सुत्नुको सट्टा कोल्टे परेर सुत्नेबानी बसाल्नुपर्छ।
चिकित्सकीय उपचार: समस्या जटिल भएमा कन्टिन्युअस पोजिटिभ एयरवे प्रेसर (सीपीएपी) मेसिन, विशेष माउथगार्ड वा शल्यक्रियाको समेत सहारा लिन सकिन्छ।
घुराइलाई धेरै लामो समयसम्म बेवास्ता गरेर सहनुभन्दा समयमै स्वास्थ्यकर्मीको परामर्श लिई उपचार गराउनु विज्ञहरूको सल्लाह छ ।
Inputs From BBC



तपाईको प्रतिक्रिया दिनुहोस