पार्किन्सन र छारे रोगका बिरामी लक्षित वीरमा विशेष क्लिनिक सञ्चालन हुँदै
वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन, डिस्टोनिया, नियन्त्रणमा नआएको छारे (मृगी) रोग तथा मेरुदण्डसम्बन्धी जटिल समस्या भएका बिरामीका लागि विशेष क्लिनिक सञ्चालन हुने भएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको न्युरोसर्जरी विभाग र अमेरिकाको मेरिल्यान्डस्थित प्रतिष्ठित ‘क्यारिलियन अस्पताल’को संयुक्त सहकार्यमा उक्त क्लिनिक सञ्चालन गर्न लागिएको हो।
अस्पतालका अनुसार क्लिनिकमा डीप ब्रेन स्टिमुलेसन (DBS), लेजर प्रविधि, स्पाइनल कर्ड स्टिमुलेसन तथा भेगस नर्भ स्टिमुलेसन (VNS) लगायतका अत्याधुनिक र जटिल उपचार सेवाका लागि बिरामीको प्रारम्भिक परीक्षण तथा मूल्यांकन गरिनेछ।
यो विशेष क्लिनिक आगामी कात्तिक १० देखि १२ गतेसम्म (अक्टोबर २६ देखि २८, २०२६) वीर अस्पतालमा सञ्चालन हुनेछ। क्लिनिकमा परीक्षण र मूल्यांकन पश्चात् जटिल शल्यक्रियाका लागि बिरामीहरूको छनोट गरिनेछ। छनोटमा परेका बिरामीहरूको शल्यक्रिया आगामी कात्तिक १६ देखि २० गतेसम्म (नोभेम्बर २ देखि ६, २०२६) गरिने योजना रहेको अस्पतालले जनाएको छ।
मस्तिष्क तथा मेरुदण्डसम्बन्धी जटिल समस्याबाट पीडित बिरामीहरूलाई समयमै वीर अस्पतालको न्युरोसर्जरी विभागमा सम्पर्क गरी अपोइन्टमेन्ट लिन अस्पताल प्रशासनले अनुरोध गरेको छ।




तपाईको प्रतिक्रिया दिनुहोस