Techie IT
२०८३ कार्तिक २९, शनिबार

अफगानिस्तानमा पुरुष चिकित्सकबाट महिलाको उपचारमा अघोषित रोक


अफगानिस्तानमा तालिबानले महिलामाथि थप कडा प्रतिबन्धहरू लगाउँदै पुरुष चिकित्सक र दन्त चिकित्सक (डेंटिस्ट) हरूलाई महिला बिरामीको उपचार गर्न अनौपचारिक रूपमा रोक लगाएको छ। आकस्मिक अवस्थामा समेत महिलासँग पुरुष अभिभावक (महरम) अनिवार्य हुनुपर्ने नियम लागू भएपछि अफगान महिलाहरूका लागि आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्नुसमेत निकै कठिन बन्न पुगेको छ।

‘द गार्जियन’ र ‘जान टाइम्स’ को संयुक्त प्रतिवेदनअनुसार, पुरुष चिकित्सकले महिलाको उपचार गर्न नपाउने अघोषित प्रतिबन्धका कारण धेरै महिला उपचार नपाएरै छटपटाउन बाध्य छन्। तालिबानले यसको औपचारिक घोषणा नगरे पनि देशका अस्पताल र निजी क्लिनिकहरूमा यो नियम कताइँका साथ कार्यान्वयन भइरहेको छ।

उपचार बीचमै रोकिँदाको पीडा
यसको प्रत्यक्ष मारमा परेकी हेरात सहरकी ३७ वर्षीया फरीदा (परिवर्तित नाम) को कथाले त्यहाँको दयनीय अवस्था प्रस्ट्याउँछ। यसै वर्ष इरानबाट फर्किएकी र आर्थिक सङ्कटसँग जुधिरहेकी उनलाई दाँतमा असह्य पीडा भएपछि जुलाईको सुरुमा एक दन्त क्लिनिक पुगेकी थिइन्। चिकित्सकले नक्कली दाँत प्रत्यारोपण गर्न सुझाव दिएपछि उनले सम्पूर्ण उपचार खर्च अग्रिम भुक्तानी गरिन्।

तर, तेस्रो चरणमा प्रत्यारोपण गर्ने समयमा उनलाई ‘उपचार गर्न नसकिने’ भन्दै घर फर्काइयो। दुई दिनपछि क्लिनिकले पुरुष दन्त चिकित्सकले अब महिलाको उपचार गर्न नपाउने जानकारी दियो। त्यसयता तीन महिना बितिसक्दा पनि उनको दाँतको उपचार अधुरै छ ।

महिलामाथिका यस्ता अमानवीय प्रतिबन्धहरू स्वास्थ्य सेवामा मात्र सीमित छैनन्। उत्तरी बल्ख प्रान्तका अधिकारीहरूले गत मे महिनामा सरकारी तथा निजी अस्पतालहरूलाई महिला बिरामीलाई उनीहरूको वास्तविक नामबाट नबोलाउन निर्देशन दिएका छन्। चिकित्सकले दिने औषधिको पुर्जामा समेत महिलाको नामको सट्टा ‘श्रीमती’ (वा बीबी) मात्र लेख्न भनिएको छ।

कुनार प्रान्तकी रहीमा (परिवर्तित नाम) ले पनि आफ्नी वृद्ध आफन्तलाई उपचार गराउन निकै सास्ती भोग्नुपरेको दुखेसो पोखेकी छन्।

तालिबानका सुरक्षा बलले स्वास्थ्य क्लिनिकहरूमा छापा मार्न थालेका छन्। क्लिनिकमा महिला बिरामी भेटिए पुरुष चिकित्सकलाई जेल हाल्ने चेतावनी दिइएको छ। गत फेब्रुअरीमा तालिबानका सञ्चारमन्त्री हमदुल्लाह नोमानीले उपचारका क्रममा पुरुष चिकित्सकलाई नै महिलाको ‘महरम’ मानिने दाबी गरेका, तर व्यावहारिक रूपमा भने त्यसको ठिक विपरीत चरम प्रतिबन्ध लागू गरिएको छ।

पूर्वी सहर जलालाबादस्थित एक दन्त क्लिनिकमा सहायकका रूपमा काम गर्ने नरगिस (परिवर्तित नाम) का अनुसार, केही चिकित्सकले महिला बिरामीको उपचार गर्दा बाहिर पहरेदार राख्ने गरेका छन्। तालिबान अधिकारीहरू छापा मार्न आए बुर्का लगाएर उम्किन सकियोस् भन्दै कार्यालयमा एउटा अफगानी बुर्का (चादरी) राख्नुपर्ने अवस्था सिर्जना भएको छ।

महिला चिकित्सकको तीव्र अभाव
महिला स्वास्थ्यकर्मीको गम्भीर अभावले अफगान महिलाहरूको समस्यालाई झन् बल्झाएको छ। सन् २०२४ डिसेम्बरदेखि महिलाहरूलाई चिकित्सा शिक्षा अध्ययन गर्न र अस्पतालमा महिला कर्मचारीका रूपमा भर्ना हुन रोक लगाइएपछि महिला चिकित्सकको सङ्ख्या अत्यधिक घटेको छ। हाल कार्यरत सीमित महिला चिकित्सकले समेत पुरुष अभिभावक साथमा राख्नुपर्ने बाध्यता छ।

तालिबानका यी कठोर प्रतिबन्धहरूका कारण अफगान महिलाहरूसँग अब लुकीछिपी जोखिम मोलेर उपचार गराउने, अप्रशिक्षित महिला स्वास्थ्यकर्मीको भर पर्ने वा रोग पालेर चुपचाप बस्ने बाहेक अन्य कुनै विकल्प बाँकी छैन। महिला चिकित्सकको उत्पादन र नियुक्तिमा रोक लगाउनुका साथै पुरुष चिकित्सकबाट समेत उपचार लिन अवरोध सिर्जना हुँदा अफगानिस्तानमा महिलाहरूको बाँच्न पाउने आधारभूत अधिकार नै गम्भीर सङ्कटमा परेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट