इम्युनोथेरापी परीक्षण सफल, क्यान्सरको पुनरागमन १०% मा सीमित
अध्ययन अनुसार, उपचारपछि क्यान्सर पुनः हुने सम्भावना तीन वर्ष भित्रमा केवल १० प्रतिशतमा झरेको छ ।

एक नयाँ अध्ययनले इम्युनोथेरापी औषधिको प्रयोगले टाउको र घाँटीको गम्भीर क्यान्सर भएका बिरामीहरूमा क्यान्सर पुनः फर्कन नदिई उनीहरूको बाँच्ने सम्भावना उल्लेख्य रूपमा बढाएको देखाएको छ । वैज्ञानिकहरूका अनुसार, यो पछिल्लो दुई दशकयताकै सबैभन्दा महत्वपूर्ण सफलता हो ।
ब्रिटेनकी ४५ वर्षीया लोरा मास्ट्रोन त्यस अध्ययनमा सहभागी एक बिरामी हुन् । उनलाई सन् २०१९ मा जिब्रोको अन्तिम अवस्थाको क्यान्सरको निदान गरिएको थियो । बाँच्ने सम्भावना केवल ३० प्रतिशत भनिएको थियो तर अहिले, ६ वर्षपछि उनी पूर्ण रूपमा काममा फर्किएकी छन् । उनको जीवन फर्केको बताइएको छ ।
लोरा जस्तै ३५० जना बिरामीहरूमा गरिएको परीक्षणमा शल्यक्रिया अघि र पछि ‘पेम्ब्रोलिजम्याब’ नामक इम्युनोथेरापी औषधि दिइएको थियो । यस औषधिले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँदै क्यान्सरको कोशिकालाई चिन्ने र त्यसविरुद्ध लड्ने क्षमता बढाएको अध्ययनले देखाएको छ ।
अध्ययन अनुसार, उपचारपछि क्यान्सर पुनः हुने सम्भावना तीन वर्ष भित्रमा केवल १० प्रतिशतमा झरेको छ । साथै, क्यान्सरमुक्त बाँच्ने औसत समय साढे दुई वर्षबाट बढेर पाँच वर्ष पुगेको छ । यसलाई उपचार क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ ।
ब्रिटेनको क्यान्सर अनुसन्धान संस्थान (Institute of Cancer Research) का प्रोफेसर केभिन ह्यारिङ्टनले भने, “हामीले प्रतिरक्षा प्रणालीलाई ट्युमरमाथि हमला गर्न सक्ने स्तरसम्म तयार पारेका छौं । यो उपचारले क्यान्सरका बिरामीहरूको संसार नै बदल्न सक्छ ।”
उक्त अनुसन्धानको नतिजा अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजी (ASCO) को वार्षिक सम्मेलनमा प्रस्तुत हुँदैछ । 'किनोट' नाम दिइएको यस परीक्षणमा २४ देशका १९२ अस्पताल सहभागी थिए भने यसको नेतृत्व अमेरिका, सेन्ट लुइसस्थित वाशिङ्टन युनिभर्सिटी मेडिकल स्कूलले गरेको थियो ।
"अद्भुत औषधि, जीवन फर्कायो"
लोरा मास्ट्रोनले आफ्नो अनुभव सुनाउँदै भनिन्, “यो इम्युनोथेरापी अद्भुत छ । म यहाँ छु, तपाईंसँग कुरा गरिरहेकी छु जुन बेला मलाई बाँच्ने आशा नै दिइएको थिएन ।” जिब्रो र घाँटीको शल्यक्रियापछि उनले फेरि बोल्न र खान सिक्नुपरेको थियो । देब्रे हातबाट मांसपेशी निकालेर उनको जिब्रो बनाइएको थियो ।
यो उपचार अहिले एनएचएस (National Health Service – यूकेको स्वास्थ्य सेवा) मा समावेश गरिनुपर्नेमा जोड दिँदै प्रो. ह्यारिङ्टनले भने, “सस्तो र सुलभ उपचार त होइन, तर यसले क्यान्सरमुक्त जीवन दिन सक्छ भन्ने आशा जगाएको छ ।”
वर्षेनी यूकेमा टाउको र घाँटीको क्यान्सरका झण्डै १२,८०० नयाँ बिरामीको मृत्यु हुनेगरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस