Techie IT
२०८२ असार ६, शुक्रबार

स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चको परमादेश


महिनावारी अवधिमा प्रयोग हुने स्यानिटरी प्याडमा सरकारले लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भीएटी) विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले ऐतिहासिक परमादेश जारी गरेको छ । रिट दर्ता भएको करिब ४ वर्षपछि न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले सोमबार उक्त परमादेश जारी गर्दै सरकारले स्यानिटरी उत्पादनहरूमा लगाएको कर खारेज गर्ने निर्णय गरेको हो ।

२०७८ सालमा श्रीना नेपाल र अभ्युदय भेटवालद्वारा दायर गरिएको रिटमा नेपालको संविधान २०७२ को धारा १६ (जीवन र सम्मानपूर्वक बाँच्न पाउने अधिकार), धारा १८ (समानताको अधिकार) र धारा ३८ (महिलाको हक) को उल्लङ्घन गर्दै महिनावारीमा प्रयोग हुने अत्यावश्यक स्यानिटरी उत्पादनहरूलाई 'लक्जरी वस्तु' को श्रेणीमा राखी कर लगाउनु गैरसंवैधानिक रहेको दाबी गरिएको थियो ।
रिटमा निम्न मुख्य मागहरू राखिएका थिए:

स्यानिटरी प्याडलाई मूल्य अभिवृद्धि कर (VAT) मुक्त सूचीमा राख्ने:
महिनावारीका समयमा प्रयोग हुने सम्पूर्ण स्यानिटरी उत्पादनहरूलाई १३% भीएटीको दायराबाट हटाई कर छुट हुने वस्तु सूचीमा समावेश गर्नुपर्ने माग गरिएको थियो ।

स्वदेशी उत्पादकहरूलाई सहुलियत:
नेपालमा रहेका स्यानिटरी उत्पादन केन्द्रहरूलाई उत्पादनका लागि आवश्यक कच्चा पदार्थको आयातमा लगाइएको भन्सार महसुल र थप १३% भीएटीले १८% कर तिर्नुपर्ने अवस्था बनाइएको भन्दै त्यसमा छूटको व्यवस्था गर्न माग गरिएको थियो ।

‘स्यानिटरी उत्पादन कर कोष’ स्थापना:
स्यानिटरी उत्पादनहरूबाट उठाइएको कर बराबरको कोष खडा गरी त्यो रकमलाई महिनावारीसम्बन्धी स्वास्थ्य सुविधाको पहुँच विस्तारमा लगानी गर्नुपर्ने प्रस्ताव गरिएको थियो। यसमा शिक्षण संस्थाहरू, सरकारी कार्यालयहरू, सुरक्षाकर्मी महिला कर्मचारीहरू लगायतलाई नि:शुल्क प्याड उपलब्ध गराउने कार्यक्रम पनि समावेश थियो ।

सर्वोच्च अदालतले रिटको सुनुवाइपछि यस मुद्दालाई केवल करको विषय मात्र नभई, महिला स्वास्थ्यमाथिको संवैधानिक हकसँग जोडिएको विषयका रूपमा व्याख्या गर्दै परमादेश जारी गरेको हो । अदालतको फैसलाले राज्यले महिनावारी स्वच्छता र महिला स्वास्थ्यप्रति जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने स्पष्ट संकेत दिएको छ ।

साथै, यो फैसला महिनावारीलाई अझै पनि वर्जित विषयको रूपमा लिने समाजमा चेतना र संवेदनशीलता अभिवृद्धि गर्ने महत्वपूर्ण मोड हो भनेको छ । गरिब तथा ग्रामीण भेगमा स्यानिटरी प्याडको पहुँच अभावका कारण महिलाले झेल्नुपरेको स्वास्थ्य जोखिमलाई घटाउने दिशामा राज्यको गम्भीर हस्तक्षेप हुने अपेक्षा गरिएको छ ।

महिला अधिकारकर्मी र स्वास्थ्य क्षेत्रका विज्ञहरूले यो निर्णयलाई स्वागत गर्दै, अब कार्यान्वयनमा राज्यले ढिलाइ नगर्नु पर्ने सुझाव दिएका छन् । स्वास्थ्य अधिकार अभियानकर्ता अनु श्रेष्ठ भन्छिन्, "महिलाको प्रजनन स्वास्थ्यप्रति राज्यको दृष्टिकोण फेरिन थालेको संकेत हो यो फैसला । अब नीति तथा कार्यक्रममा यो दृष्टिकोण प्रतिविम्बित हुनुपर्छ।"

अगाडि के?
सर्वोच्चको परमादेश कार्यान्वयनका लागि अब आर्थिक ऐन, भन्सार नियमावली र कर सम्बन्धी कानुनी संरचनामा संशोधन आवश्यक हुनेछ । साथै, महिनावारी स्वच्छता सम्बन्धी राष्ट्रिय नीति निर्माण र 'स्यानिटरी स्वास्थ्य कार्यक्रम' को कार्यान्वयनमा पनि सरकारलाई स्पष्ट दिशानिर्देश मिलेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट