एमाले कार्यदलको बैठक सकिँदै, फरक प्रतिवेदन मिलाउने अन्तिम कसरत जारी
नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको दुई दिनदेखि काभ्रेको पनौतीस्थित बल्थली रिसोर्टमा जारी आवासीय बैठक आज (सोमबार) बेलुका सकिँदैछ। पार्टीभित्र देखिएका वैचारिक तथा नेतृत्वसम्बन्धी मतभेदलाई अन्त्य गर्दै दुई शीर्ष नेताहरूका फरक प्रतिवेदनलाई समेटेर साझा प्रतिवेदन तयार पार्ने विषयमा बैठकमा घनिभूत छलफल भइरहेको छ।
गत जेठ १० गतेको एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा १५ सदस्यीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन गरेको थियो। कार्यदलले देशभरबाट सुझाव सङ्कलन गरेपछि सदस्यसचिव तथा महासचिव शङ्कर पोखरेललाई असार २५ गते प्रतिवेदनको मस्यौदा तयार पार्ने जिम्मेवारी दिइएको थियो।
तर, महासचिव पोखरेलले तयार पारेको मस्यौदाप्रति कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ले नै असहमति जनाउँदै ‘काउन्टर’ प्रतिवेदन (खण्डन पत्र) प्रस्तुत गरेपछि कार्यदलभित्रै विवाद सतहमा आएको थियो। सोही विवाद समाधान गर्न गत भदौ २६ गते शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले थापा र पोखरेलका दुवै प्रतिवेदनलाई मिलाएर एउटै साझा दस्तावेज बनाउने निष्कर्षसहित यो आवासीय बैठक आह्वान गरेको थियो।
एमालेभित्र पार्टी पुनर्गठनको मोडल र नेतृत्वको भविष्यलाई लिएर शीर्ष नेताहरूबीच नै एकै खालको धारणा छैन । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पक्षले वर्तमान नेतृत्वलाई सीधै दोष दिएर हटाउन नहुने पक्षमा उभिँदै आएको छ। यता, महासचिव शङ्कर पोखरेल पक्ष भने कार्यकर्ताहरूको भावना र पार्टीको ग्राउन्ड रियालिटीलाई मध्यनजर गर्दै आवश्यकता परेमा वर्तमान नेतृत्व (अध्यक्ष) लाई समेत बिदाइ गर्नुपर्ने पक्षमा देखिएको छ।
दुई धारमा देखिएका यी फरक मतहरूलाई एकीकृत गरी पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने साझा प्रतिवेदनको मस्यौदालाई पूर्णता दिने तयारी भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस