उम्मेदवारहरुको नामावली आज सार्वजनिक हुदै, ५ जनाविरुद्ध उजुरी
निर्वाचन आयोगले आज प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने भएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता भएको थियो। उम्मेदवारहरूमाथि बुधबार परेको दाबी–विरोधमाथि जाँचबुझ गरी निर्णय गरेपछि आयोगले बिहीबार नामावली प्रकाशन गर्न लागेको हो।
आयोगका अनुसार आज साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ।
निर्वाचन आयोगले पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको जनाएको छ। भक्तपुर–२ मा दुई जना उम्मेदवारविरुद्ध, सुनसरी–२ मा एक जना, रौतहट–१ मा एक जना र कैलाली–१ मा एक जना उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको हो।
उजुरी पर्ने उम्मेदवारहरूमा भक्तपुर–२ का राजीव खत्री र जानुका पाठक, सुनसरी–२ का लालविक्रम थापा, रौतहट–१ का माधव नेपाल तथा कैलाली–१ का रेशम चौधरी रहेका छन्।
सम्बन्धित निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता गरिएको आयोगले जनाएको छ। निर्वाचन अधिकृतले अनुसूची १७ अनुसार दर्ता किताबमा उजुरी अभिलेख गरी अनुसूची १८ बमोजिमको भरपाइ उजुरीकर्तालाई प्रदान गरेका छन्।
निर्वाचन कार्यक्रमअनुसार उजुरी गर्ने म्याद सकिएपछि म्यादभित्र दर्ता भएका उजुरीको विवरण निर्वाचन अधिकृतले अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशनसमेत गरेका छन्। प्रकाशित सूचनाअनुसार जसकाविरुद्ध उजुरी परेको हो, उनले तोकिएको अवधिभित्र प्रमाणसहित उपस्थित हुनुपर्ने व्यवस्था छ। सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सोको जानकारी पाएको मानिनेछ।
निर्वाचन कार्यतालिकाअनुसार माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।
आयोगका अनुसार हालसम्म ३ हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये पुरुष ३ हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी एक जना रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस