डा. आरजु राणा देउवा हङकङमा, अन्तरराष्ट्रिय महासन्धिमा सहभागी हुँदै

हङकङ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा एक अन्तरराष्ट्रिय महासन्धिको हस्ताक्षर समारोहमा सहभागी हुन गएराति हङकङ प्रस्थान गरेकी छन् ।
डा. राणाका प्रेस सल्लाहकार एकराज पाठकका अनुसार, मन्त्री राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उक्त समारोहमा सहभागी हुन गएकी हुन् ।
जनवादी गणतन्त्र चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा यही ‘मे ३०’ मा आयोजना हुने उक्त हस्ताक्षर समारोहमा नेपाल पर्यवेक्षक राष्ट्रको रूपमा सहभागी हुँदैछ । सो समारोह अन्तरराष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धिसँग सम्बन्धित रहेको जनाइएको छ ।
समारोहमा सहभागी नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू तथा हङकङस्थित नेपाली महावाणिज्य दूतावासका प्रतिनिधिहरू समेत रहनेछन् ।
परराष्ट्रमन्त्री डा. राणा यही आउँदो शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको पनि प्रेस सल्लाहकार पाठकले जानकारी दिए ।
तपाईको प्रतिक्रिया दिनुहोस