रुपन्देहीमा नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतीय नागरिक पक्राउ

रुपन्देही प्रहरीले ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्डलगायत नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारत कानपुर नौबस्ती बस्ने २८ वर्षीय अभिषेक यादवलाई आइतबार बेलुकी सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथभित्र प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिइएको हो । पक्राउ कार्यमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोली खटिएको थियो ।
यादवको साथबाट त्रिभुवन विश्वविद्यालयको १ सय थान ट्रान्सक्रिप्ट, ३६ थान सर्टिफिकेट, ५ थान स्ट्याम्प प्याड, ३ थान स्ट्याम्प, ‘त्रिभुवन विश्वविद्यालय २०१२’ लेखिएका ४ हजार ४० थान होलोग्राम स्टिकर, उच्च माध्यमिक शिक्षा परिषद्का २ हजार थान स्टिकर, राष्ट्रिय परीक्षा बोर्डका १ हजार ७ सय थान स्टिकर तथा सिटीईभीटी लेखिएका १ हजार ९ सय थान होलोग्राम स्टिकर बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै भारतका अमिटी युनिभर्सिटी उत्तरप्रदेश, जवाहरलाल नेहरू टेक्नोलोजिकल युनिभर्सिटी हैदरावाद, छत्रपति साहु जी महाराज युनिभर्सिटी कानपुर, आसाम उच्च माध्यमिक शिक्षा परिषद्, कुरूक्षेत्र विश्वविद्यालय र आन्ध्र युनिभर्सिटीका नक्कली मार्कशीट, चारित्रिक प्रमाणपत्र, स्थानान्तरण प्रमाणपत्र, लेटर प्याडलगायतका कागजात पनि फेला परेको प्रहरी उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए ।
प्रहरीले यादवको साथबाट विभिन्न कार्यालयका छाप, हस्ताक्षर, दुई थान मोबाइल, एक ल्यापटप, पेनड्राइभ, एटीएम कार्ड तथा नेपाली र भारतीय नगद रकम पनि बरामद गरेको छ ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार गोप्य सूचनाको आधारमा होटलमा चेकजाँच गर्दा नक्कली प्रमाणपत्र र अन्य शंकास्पद सामग्री भेटिएपछि यादवलाई नियन्त्रणमा लिइएको हो । प्रारम्भिक अनुसन्धानले यसमा गिरोह संलग्न हुनसक्ने आशंका गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘नेपालबाट विदेश अध्ययन वा रोजगारीका लागि जानेहरूका नाममा नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग हुने गरेको अनुमान छ । यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी छ,’ एसपी क्षेत्रीले बताए ।
पक्राउ परेका यादवलाई अदालतबाट ५ दिनको थुनाको अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस